चक्कु प्रहारपछि बुटवलको नाइटलाइफ संकटमा, ‘द कन्सेप्ट क्लब’ साउन १ सम्म बन्द

by समतल अनलाइन
32Shares

बुटवल। कालिकानगरस्थित ‘द कन्सेप्ट क्लब’ अगाडि भएको चक्कु प्रहार घटनापछि बुटवलको नाइटलाइफ, सुरक्षा व्यवस्था र मनोरञ्जन व्यवसायलाई लिएर बहस तीव्र बनेको छ।

गत असार १७ गते बिहान करिब ३ बजे दुई युवामाथि चक्कु प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका २९ वर्षीय सुमित गुरुङ (आचे) लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ‘द कन्सेप्ट क्लब’ साउन १ गतेसम्म बन्द रहने निर्णय गरिएको छ। साथै, त्यसपछि क्लब तथा नाइट व्यवसाय सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले नयाँ मापदण्ड सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

घटनाले बुटवलमा पछिल्लो समय बढ्दै गएका हिंसात्मक गतिविधि र नाइटलाइफ व्यवस्थापनबारे गम्भीर बहस सुरु भएको छ। हाल राति ११ बजेसम्म मात्र क्लब सञ्चालन गर्न पाइने व्यवस्थाले व्यवसायी, कलाकार, डीजे, संगीतकर्मी तथा यस क्षेत्रसँग जोडिएका सयौं व्यक्तिमा भविष्यप्रति अन्योल बढाएको उनीहरूको भनाइ छ।

एकातर्फ शान्ति सुरक्षा कायम गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको छ भने अर्कोतर्फ करोडौंको लगानी, रोजगारी र विस्तार हुँदै गएको मनोरञ्जन उद्योगको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको सरोकारवालाहरूको धारणा छ।

सुरक्षा र व्यवसायबीच सन्तुलन कायम गर्दै स्पष्ट र व्यवहारिक मापदण्डका आधारमा नाइट व्यवसाय सञ्चालन गर्नुपर्ने माग बढिरहेको छ। अब जिल्ला प्रशासनले ल्याउने नयाँ मापदण्डले बुटवलको नाइटलाइफ र मनोरञ्जन उद्योगलाई कुन दिशामा लैजान्छ भन्ने विषय सबैको चासोको केन्द्र बनेको छ।

You may also like