भक्तपुर । कीर्तिपुरस्थित होल्डिङ सेन्टर जलमग्न भएपछि त्यहाँ आश्रित सुकुम्वासीहरूलाई खरिपाटीमा सारिएको छ। उक्त स्थानमा रहेका सुकुम्वासीहरूको अवस्था बुझ्न र उनीहरूलाई आश्वस्त पार्न सरकारका ६ जना मन्त्रीहरूको टोली आज खरिपाटी पुगेको छ।
खरिपाटी पुग्ने मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव र महिला मन्त्री सीता वादी रहेका छन्।
सुकुम्वासीहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सरकारले कानुनी प्रक्रिया पूरा गरेर मात्र लालपूर्जा वितरण गर्ने स्पष्ट पारिन्। हचुवाको भरमा लालपूर्जा बाँड्दा भविष्यमा कानुनी झमेला आउन सक्ने र गरिबको लालपूर्जा खोसिन सक्ने खतरा औँल्याउँदै मन्त्री रावलले पुस्तौँसम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित लालपूर्जा वितरण गर्ने योजना रहेको बताइन्।
मन्त्री रावलका अनुसार, असारको तेस्रो हप्ताबाट बर्दिया जिल्लाबाट लालपूर्जा वितरण कार्य सुरु भइसकेको छ र आगामी केही हप्ताभित्रै नेपालका धेरै जिल्लाहरूमा यो प्रक्रिया अगाडि बढ्नेछ। सुकुम्वासीको नाममा वर्षौँदेखि हुँदै आएको राजनीति अन्त्य गर्न सरकार ठोस कदम चाल्न प्रतिबद्ध रहेको उनको भनाइ छ। साथै, नागरिकता नभएका सुकुम्वासीका लागि सरकारी टोलीले नै सम्बन्धित स्थानमा पुगेर विवरण संकलन गरी प्रक्रिया मिलाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

