फ्रान्सको कप्तानी गरेका अयुब बुआदी, आज मोरक्कोबाट आफ्नै जन्मभूमिविरुद्ध खेल्दै

by समतल अनलाइन
29Shares

काठमाडौँ । जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा आज एउटा निकै रोचक र भावनात्मक भिडन्त हुँदैछ, जहाँ फ्रान्सको सेन्लिसमा जन्मिएका १८ वर्षीय मिडफिल्डर अयुब बुआदी मोरक्कोको जर्सीमा आफ्नै जन्मभूमिविरुद्ध मैदान उत्रिँदैछन्। बोस्टनमा हुने यो खेल बुआदीको छोटो खेल जीवनकै सबैभन्दा भावनात्मक र ऐतिहासिक मोड बन्ने निश्चित छ।

फ्रान्सको कप्तानीदेखि मोरक्कोको यात्रासम्म
फ्रान्सेली क्लब लिल (Lille) को एकेडेमीबाट व्यावसायिक फुटबल सुरु गरेका बुआदीले फ्रान्सको विभिन्न उमेर समूहको टोलीबाट खेलिसकेका छन्। १७ वर्षको उमेरमा फ्रान्सको यू–२१ टोलीको कप्तानी समेत गरिसकेका उनी एक असाधारण प्रतिभा हुन्।

सिनियर राष्ट्रिय टोलीमा अवसर पाउन थप पर्खन नचाहेपछि उनले आफ्ना आमाबुबाको देश मोरक्कोबाट खेल्ने निर्णय गरे। उनको यो निर्णयले यतिबेला युरोपेली र अफ्रिकी फुटबल जगतमा ठूलो बहस सिर्जना गरेको छ।

जिदानको फोन र मोरक्कोको आश्वासन
बुआदी जस्तो विरलै पाइने प्रतिभालाई गुमाउन फ्रान्सेली फुटबल संघ (FFF) चाहँदैनथ्यो। उनलाई फ्रान्सकै सिनियर टोलीका लागि पर्खन मनाउन धेरै प्रयासहरू भएका थिए। विश्वकप लगत्तै फ्रान्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेका फुटबलका महान् खेलाडी जिनेदिन जिदानले समेत बुआदीलाई व्यक्तिगत रूपमा फोन गरेका थिए। जिदानले उनको खेलको प्रशंसा गर्दै फ्रान्सकै टोलीमा रहन आग्रह गरे पनि भविष्यको सुनिश्चित ग्यारेन्टी भने दिन सकेका थिएनन्।

अर्कोतर्फ, मोरक्कोका प्रशिक्षकले उनलाई विश्वकप टोलीको सुरुवाती–११ (Starting XI) मै खेलाउने स्पष्ट आश्वासन दिए। सोही आश्वासन र आफ्नो मोरक्कन विरासतलाई सम्मान गर्दै बुआदीले मोरक्को रोजे। विश्वकपमा बुआदीको हालसम्मको उत्कृष्ट प्रदर्शनले उनको निर्णयलाई सहि साबित गरिदिएको छ।

भाग्यको खेल: एउटा भावनात्मक भिडन्त
मोरक्को ऐतिहासिक विश्वकप यात्राको सपना बुनिरहँदा भाग्यले बुआदीलाई त्यही देशविरुद्ध उभ्याएको छ, जसले उनलाई फ्रान्सकै निलो (Blue) जर्सीमा देख्न चाहेको थियो। बिहीबार बोस्टनमा हुने फ्रान्स र मोरक्कोबिचको यो क्वार्टरफाइनल भिडन्त खेल कौशलका हिसाबले मात्र नभई बुआदीका लागि भावनात्मक रूपमा पनि निकै चुनौतीपूर्ण र महत्त्वपूर्ण रहनेछ।

You may also like