ह्वील लकपछि आत्मदाह,गणेशको अवस्था गम्भीर, आईसीयूमा भर्ना

by समतल अनलाइन
45Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनको हाल वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ।

उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार नेपालीको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ। विशेषगरी हात, घाँटी र टाउकोमा गम्भीर जलन भएको उनले जानकारी दिए। उनको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर निरन्तर उपचार भइरहेको अस्पतालले जनाएको छ।

महानगरले आत्मदाह प्रयासको घटनामा आफूहरूको कुनै प्रत्यक्ष भूमिका नरहेको दाबी गर्दै उक्त घटना नियमित कानुन कार्यान्वयनको क्रममा भएको जनाएको छ। महानगरका अनुसार घटनास्थलमा मोटरसाइकल पार्किङ गर्न निषेध गरिएको स्थानमा राखिएको थियो। कर्मचारीहरूले सम्बन्धित व्यक्तिको खोजी गर्दा कोही नभेटिएपछि सार्वजनिक आवागमनमा अवरोध हटाउने नियमित प्रक्रियाअनुसार मोटरसाइकल हटाइएको जनाएको छ।

महानगरले चिट (जरिवाना) काट्ने अधिकार आफ्नो नभई ट्राफिक प्रहरीको रहेको स्पष्ट पार्दै आफ्नो जानकारीमा उक्त मोटरसाइकलमा चिट काटिएको जानकारी नभएको उल्लेख गरेको छ।

महानगरका अनुसार सार्वजनिक सडक व्यवस्थापनका क्रममा दैनिक सयौँ सवारीसाधन यस्तै प्रक्रियाबाट हटाइँदै आएको छ। “नियमित रूपमा कानुनको पालना गराउने क्रममा यस्तो अप्रिय घटना हुन पुग्यो। यसप्रति हामीलाई पनि दुःख लागेको छ। तर यसको कारक तत्व हामी होइनौँ,” महानगरले जनाएको छ।

साथै, सडकमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी हटाउने कार्य आफ्नो नियमित जिम्मेवारी भएको उल्लेख गर्दै घटनालाई महानगरसँग मात्र जोडेर नहेर्न र आत्मदाह प्रयासको वास्तविक कारणबारे निष्पक्ष अनुसन्धान गर्न महानगरले आग्रह गरेको छ।

यता, प्रहरीले आत्मदाह प्रयासको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको कारण र त्यसअघिका सम्पूर्ण परिस्थितिबारे अनुसन्धानपछि मात्रै यथार्थ विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ।

You may also like