बुटवल । रुपन्देहीका विभिन्न स्थानमा सुनका सिक्री स्न्याचिङ (घाँटीबाट तानेर लुट्ने) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयहरूको संयुक्त अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरा हाटबजारमा भिडभाडको मौका छोपेर एक महिलाको घाँटीबाट गणेश भगवानको लकेटसहितको सुनको सिक्री तानेर भाग्ने क्रममा बाराको बारागढी गाउँपालिका–३ शिवपुराका २५ वर्षीय विकास राय पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले नियन्त्रणमा लिएको हो।
रायको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको एक थान सुनको सिक्री बरामद भएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको छ।
यस्तै, असार १० गते रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलस्थित चाँदनी मार्गमा पैदल हिँडिरहेकी एक महिलाको घाँटीबाट मोटरसाइकलमा आएका व्यक्तिहरूले सुनको सिक्री लुटेर फरार भएका थिए।
उक्त घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बुटवलले थप चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको गोरखपुर निवासी ३२ वर्षीय राहुल जयसवाल, महाराजगञ्ज निवासी २२ वर्षीय प्रिन्स जयसवाल, बिहार निवासी ३० वर्षीय नितेश कुमार गुप्ता तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ निवासी ३२ वर्षीय प्रदीप कान्दु रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू अन्य स्न्याचिङ घटनामा पनि संलग्न भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

