35
काठमाडौं । साउदी अरबले ३३ नेपाली नागरिकको कैद माफ गरेको छ ।रमजानको अवसरमा साउदी सरकारले जेलमा रहेका ३३ नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले साउदी अरब सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै यो निर्णयलाई नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम रहेको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिएको जनाएको छ ।
मन्त्रालयले रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधका आधारमा साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी दिएको बताएको छ ।
आममाफी पाएका नेपालीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

