काठमाडौं । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष २ हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।
जिल्लामा गत वर्ष १ लाख १ हजार ३७४.१० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई १ लाख ३ हजार ५७०.६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गत वर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए । गत वर्ष ५.७१ उत्पादकत्व भएकोमा यसवर्ष वृद्धि भई ५.८० पुगेको हो ।

अघिल्लो साल चैते धानको मूल्य क्वीन्टल दुई हजार सात सयसम्म पुगेकोमा यस वर्ष घटेर क्वीन्टल २ हजार सम्मममा भइरहेको रङ्गेली नगरपालिका–१ का किसान चन्द्र अधिकारी बताउँछन् । चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ९ नलबारीका किसान नरबहादुर कटुवालले भने, ‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, किसानको पहुचमा भण्डारण हुनेथियो भने यति सस्तोमा धान बेच्नुपर्ने थिएन ।’
कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् ।


