बुटवल। नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा युवाहरूलाई धिमे बाजा प्रशिक्षण प्रदान गरिएको छ। श्री नेवाः सेवा समितिको आयोजनामा १६ दिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
प्रशिक्षणको समापन समारोहमा वडा नं. ९ का वडाध्यक्ष प्रदीपकुमार श्रेष्ठले सहभागीहरूलाई प्रशंसापत्र वितरण गर्दै भाषा, कला र संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने मूल उद्देश्यमा संस्था सफल भएको बताए। उनले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

समितिका अध्यक्ष डिल्लीकुमार श्रेष्ठले नेवार समुदाय सामाजिक क्षेत्रमा सक्रिय रहे पनि विभिन्न संघसंस्थामा सक्षम नेतृत्व विकास आवश्यक रहेको बताए।
प्रशिक्षक निर्मला श्रेष्ठले धिमे बाजाका विभिन्न तालमध्ये आधारभूत तालिम प्रदान गरिएको जानकारी दिँदै सहभागीहरूले भविष्यमा विभिन्न शुभकार्यमा बाजा बजाएर नेवारी पहिचानलाई थप स्थापित गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका संयोजक लीलाप्रसाद श्रेष्ठले नयाँ पुस्तालाई नेवारी कला, संस्कृति र सीप सिकाउने तथा यसको महत्वबारे बुझाउने कार्य आवश्यक रहेको बताए।
समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठले तालिमबाट हासिल भएको सीपलाई आयआर्जनसँग जोड्न आग्रह गरे। उनले धिमे बाजाको बजारीकरण तथा आवश्यक व्यवस्थापनमार्फत यसलाई व्यावसायिक रूपमा विकास गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेवा देय दबू बुटवल नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठ, नेवा मिसा दबूका अध्यक्ष सीता श्रेष्ठ तथा भीमसेन नेवाःका पारु श्रेष्ठले प्रशिक्षणको महत्व र यसबाट प्राप्त सीपको सकारात्मक प्रभावबारे धारणा व्यक्त गरेका थिए।
तालिममा १६ जना युवाको सहभागिता रहेको जानकारी संयोजक लक्ष्मी कर्माचार्यले दिइन्। यसैबीच, कार्यक्रममा विश्वास श्रेष्ठको संयोजकत्वमा १२ सदस्यीय ल्याम ल्यास पुचः गठन गरिएको सचिव लक्ष्मण श्रेष्ठले जानकारी दिए। समितिका सदस्यहरूमा राजीव अमात्य, समीक्षा श्रेष्ठ, रोज राजभण्डारी, समृद्धि श्रेष्ठ, रोजिना राजभण्डारी, आरुषी श्रेष्ठ, अनुज श्रेष्ठ, आशा श्रेष्ठ, सबिन श्रेष्ठ, शिवजल श्रेष्ठ र सृष्टि श्रेष्ठ रहेका छन्। कार्यक्रम संचालन सचिव लक्ष्मण प्रसाद श्रेष्ठको रहेको थियो।


