बुटवल । सञ्चार तथा प्रस्तुतीकरण क्षेत्रमा रुचि राख्ने युवायुवतीलाई लक्षित गर्दै पहिलो पाइला नेपाल बुटवल शाखाले निःशुल्क उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाका अध्यक्ष गौरभ खनालका अनुसार आफ्ना सदस्यहरू तथा अन्य इच्छुक सहभागीहरूलाई उद्घोषण, रेडियो जकी (आरजे) र भिडियो जकी (भिजे) सम्बन्धी आधारभूत ज्ञान, सीप तथा अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।उनका अनुसार कार्यक्रम जेठ ३० गते शनिबार बुटवल–११ कालिकानगरस्थित स्कलर्स होम बोर्डिङ स्कुलमा सञ्चालन हुनेछ ।
कार्यक्रममा उद्घोषण कला, मञ्च सञ्चालन, रेडियो तथा टेलिभिजन प्रस्तुतीकरण, सञ्चार सीप विकास, व्यक्तित्व विकास तथा मिडिया क्षेत्रमा रहेका अवसर र सम्भावनाबारे जानकारी प्रदान गरिने अध्यक्ष खनालले बताए। उनले यस्ता कार्यक्रमले युवाहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै सञ्चार क्षेत्रमा भविष्य निर्माण गर्न चाहनेहरूलाई महत्वपूर्ण मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरे।
पूर्ण रूपमा निःशुल्क रहने कार्यक्रममा अनुभवी सञ्चारकर्मी तथा प्रशिक्षकहरूले सहजीकरण गर्नेछन्। सहभागीहरूले सञ्चार क्षेत्रका आधारभूत पक्षहरूबारे जानकारी प्राप्त गर्नुका साथै आफ्नो प्रस्तुतीकरण क्षमता विकास गर्ने अवसर पाउने आयोजकको भनाइ छ।
‘सधैं परिवर्तनका लागि’ भन्ने मूल नारासहित सामाजिक रूपान्तरण, क्षमता विकास तथा व्यक्तित्व विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पहिलो पाइला नेपालले युवाहरूको प्रतिभा पहिचान र नेतृत्व विकासमा योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ।
आयोजकले सञ्चार तथा मिडिया क्षेत्रमा रुचि राख्ने विद्यार्थी, युवा तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।




