गृहमन्त्रीसँग भेटे सुजन बिक, अस्पतालको लापरवाहीबारे छानबिन गर्न निर्देशन

by समतल अनलाइन
37Shares

काठमाडौँ।लामो समयदेखि आफ्नी श्रीमतीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै आन्दोलनरत सुजन बिकले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी घटनाबारे ध्यानाकर्षण गराएका छन्।

चितवनको रत्ननगर नगरपालिका निवासी बिक विगत तीन महिनादेखि श्रीमतीको मृत्यु अस्पतालको लापरवाहीका कारण भएको दाबी गर्दै न्यायको मागसहित काठमाडौँमा धर्ना र आन्दोलन गर्दै आएका छन्। सोही क्रममा उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री गुरुङलाई आफ्नो पीडा सुनाएका हुन्।

भेटका क्रममा बिकले सुत्केरी अवस्थामा श्रीमतीलाई अस्पतालले आवश्यक उपचार र हेरचाह नगर्दा ज्यान गुमाउनुपरेको आरोप लगाएका थिए। उनले काखमा नवजात शिशु लिएर न्यायका लागि विभिन्न निकायमा धाउनुपरेको अवस्था गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

बिकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका थिए।

गृहमन्त्री गुरुङले पीडित परिवारको गुनासो सुनेपछि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्य पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्। उनले अस्पतालको लापरवाहीका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै निष्पक्ष छानबिनका आधारमा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्रीले मन्त्रालयका सम्बन्धित अधिकारीहरूलाई घटनाबारे आवश्यक अध्ययन तथा छानबिनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जनाइएको छ। साथै, छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी कदम चालिने उनले बताएका छन्।

You may also like

This will close in 0 seconds