बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन्। नेपालमै उत्पादन हुने सिमेन्ट तथा कंक्रिटको प्रयोग बढाउन सके पूँजी पलायन रोक्नुका साथै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनीहरूको भनाइ छ।
सिमेन्ट उत्पादक संघ नेपालले बुधबार बुटवलमा आयोजना गरेको “सडकका लागि बलियो फुटपाथको डिजाइन तथा निर्माण” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणमा स्वदेशी सामग्रीको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले आयातित कच्चा पदार्थमा निर्भरता घटाउँदै नेपालमै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य इञ्जिनियर अर्जुनजंग थापाले सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको बताए। सडक निर्माणमा क्रमशः सिमेन्ट र कंक्रिटको प्रयोग बढाउँदै लगिएको उल्लेख गर्दै उनले दाउन्ने क्षेत्रमा निर्माणाधीन करिब ११ किलोमिटर सडक तथा सिद्धबाबा सुरुङमार्ग आसपासका ढलान सडक यसका उदाहरण भएको बताए।
उनले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा सडक विस्तार आयोजना पनि अगाडि बढ्ने जानकारी दिए। पुरानै डिजाइन अनुसार जाने वा नयाँ डिजाइन तयार गर्ने विषयमा छलफल भइरहे पनि चालु आर्थिक वर्षभित्रै आयोजना टेन्डर प्रक्रियामा जाने तयारी रहेको उनको भनाइ थियो।
थापाले बुटवलदेखि पाल्पाको रानीमहल हुँदै कालीगण्डकी करिडोर र मुक्तिनाथसम्म पुग्ने सडक मार्गलाई छोटो तथा सहज बनाउने गरी दीर्घकालीन योजना निर्माण गर्न सकिने सम्भावना रहेको पनि बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र पर्यटन प्रवर्द्धनका लागि मुक्तिनाथसम्मको यात्रा सहज बनाउने सडक विस्तार योजनालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे। बुटवललाई केन्द्रमा राखेर आसपासका प्रमुख पर्यटकीय गन्तव्यसम्म पहुँच मार्ग विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
प्रमुख पाण्डेयले सडक निर्माणमा गुणस्तर र दीर्घकालीन टिकाउपन सुनिश्चित गर्न बिटुमिन र डामरको विकल्पका रूपमा सिमेन्ट ढलान प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार प्रारम्भिक लागत केही बढी देखिए पनि ढलान सडक दीर्घकालीन रूपमा बढी टिकाउ र मर्मत खर्च कम हुने खालका हुन्छन्।
कार्यक्रममा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक इञ्जिनियर अशोककुमार साह, सिमेन्ट उत्पादक संघ नेपालका अध्यक्ष ध्रुवनन्दन मारु तथा नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष महेश्वर लम्साललगायतले नेपाललाई सिमेन्ट तथा काठ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
उनीहरूले सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गइरहेको अवस्थामा स्वदेशमै उत्पादन हुने सिमेन्ट र कंक्रिटको प्रयोग बढाउनु समयानुकूल हुने बताए। गुणस्तर, दीर्घायु र मर्मत खर्चका दृष्टिले पनि ढलान सडक प्रभावकारी हुने भएकाले यसका लागि सरकारी नीतिमा आवश्यक सुधार र प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा उनीहरूले जोड दिए।


