रविलाई भेटेपछि मोदीले लेखे: नेपालको नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं

by समतल अनलाइन
85Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् । नयाँदिल्लीमा भएको उक्त भेटघाटलगत्तै सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै प्रधानमन्त्री मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको साझा एवं समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको इच्छालाई आफूले पूर्ण रूपमा समर्थन र स्वागत गर्ने बताएका छन्। भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल जहिले पनि प्राथमिकताप्राप्त साझेदार राष्ट्र रहेको उल्लेख गर्दै उनले आगामी दिनमा दुई देशबीचको विशेष सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरे।

‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं,’ मोदीले लेखेका छन्।

भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश मन्त्री डा. एस जयशंकर र भारतीय विदेश सचिव विक्रम मिस्री समेत उपस्थिति रहेका थिए।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।

मंगलबार भारत पुगेका सभापति लामिछानेले बुधबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। उनले भाजपा मुख्यालय पनि अवलोकन गरेका थिए।

You may also like