भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीको बेलहिया नाका हुँदै नेपाल फर्काइएको छ । भारतको कुशीनगरबाट उद्धार गरिएका उनीहरूलाई बेलहिया नाका हुँदै भैरहवा ल्याइएको छ ।
गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले भारतको कुशीनगरमा पुगेर उनीहरूको उद्धार गरेको हो । उद्धारका लागि प्रदेश प्रहरी कार्यालयबाट बरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लको कमाण्डमा नेपाल प्रहरीको टोली भारत गएको थियो।
भारतको सुनौली हुँदै बेलहिया नाका नाकामार्फत नेपाल ल्याइएका उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको प्रहरीले जनाएको छ । ८ वटा भारतिय बसमा नेपाल ल्याइएका उनीहरुलाई स्क्रिनिङ गर्ने क्रम सुरु भएको रुपन्देही प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिए । उद्धार गरिएकाहरुमा आधाआधीको संख्या महिला रहेको पनि उनले बताए ।
रुपन्देही प्रहरीकाअनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्याएर बन्दक बनाइएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई घर पठाउने तयारी गरिएको कुँवरले बताए ।


