धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सतलोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको मृत्यु भएको हो। सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ५ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्याएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार त्यहाँ प्राथमिक उपचारपछि राति ११ बजे सबै घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सुर्खेतमै उपचार भइरहेको छ। घाइते हुनेमा सिराहाको कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षीय सन्तकुमार साह रहेका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था गम्भीर रहेको बताइएको छ।
त्यस्तै, बाँकेको नेपालगञ्ज निवासी तथा जीप चालक २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ताको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
यसैगरी, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ निवासी अर्जुनकुमार पौडेलको टाउको र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
जीप थापामोडबाट कुँजेडातर्फ जाने कच्ची सडकमा खसेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।


