सम्भवत: एक हप्ताभित्रै प्रधानमन्त्री संसद्‌मा आउनुहुन्छ : रास्वपा महामन्त्री बुर्लाकोटी

by समतल अनलाइन
48Shares

काठमाडौं । प्रधानमन्त्री सम्भवत: एक हप्ताभित्रै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबारको बैठकमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री संसद्मा आउने जानकारी दिएका हुन्। संसद् अवरोध र अन्य अन्योलताका बीच दलहरूसँग संवाद भइरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको सचिवालयसँग पनि यसबारे परामर्श भएको बताए।

‘ब्रेककाे समयमा हामीले केही छलफल गर्‍याैँ । विशेष गरी संसदमा रहेकाा सबै दलका प्रमुख सचेतक, सचेतक बसेर छलफल गर्‍याैँ । याे बीचमा मैले प्रधानमन्त्री ज्यूकाे सचिवालयमा पनि कुराकानी गरेँ । संसदमा वादविवादभन्दा पनि सैद्धान्तिक छलफलबाटै निकास निकाल्ने पर्ने र परिणाम दिनुपर्ने हाे भन्ने हामी अवगत नै छ । सम्माननीय प्रधानमन्त्री ज्यू संसदमा आउनुहुन्छ । सम्भवत: एक हप्ताभित्रै संसदमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहान्छु,’ बुर्लाकोटीले भने ।

यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबीच सदनको कारबाही सुचारु गराउने सहमति भएको हाे । तत्पश्चात एमालेको संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो बन्न सक्ने जिकिर गरिन् । नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री संसदमा उपस्थित हुने सम्बन्धमा सत्ता पक्षका मुख्य सचेतकले राखेकाे विषयमा सभामुखबाट रुलिङको माग गरे।

You may also like