काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ तथा सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौँस्थित अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको गम्भीरता र सरकारलाई प्राप्त जिम्मेवारीप्रति आफू पूर्ण रूपमा सचेत रहेको बताएका हुन् ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरे । उनले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे । प्रधानमन्त्री शाहले ‘नयाँ हुनु भनेको विगतसँग पूर्ण रूपमा अलग हुनु होइन’ भन्दै नेपालको नीति स्पष्ट, स्थिर र अनुमान गर्न सकिने खालको रहने बताए । लोकतान्त्रिक मूल्य मान्यता संरक्षण र राजनीतिक स्थिरता कायम गर्न सरकार दृढ रहेको उनको भनाइ थियो ।
उनले सुशासन र समावेशी आर्थिक वृद्धिका माध्यमबाट जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार केन्द्रित रहेको उल्लेख गरे । विश्व बजारबाट लाभ लिन, लगानी प्रक्रिया थप सहज बनाउन, नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पारे । छिमेकी मुलुक, विकास साझेदार र मित्र राष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तमा आधारित रहेको उनले बताए ।
नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग पुर्याएको भन्दै उहाँले विकास साझेदार तथा मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे । साथै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको पनि उनले स्पष्ट पारे । विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण सर्वसाधारण नागरिकले बढी पीडा भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापना गर्न सैन्य भिडन्तभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
भेटका क्रममा युरोपेली सङ्घ तथा अन्य देशका राजदूतहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए । साथै सुशासन, आर्थिक विकास र समृद्धिको एजेन्डासहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए । राजदूतहरूले आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको बताएका थिए ।


