रुपन्देहीमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ

by समतल अनलाइन
28Shares

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नक्कली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर नौगढ निवासी ३८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना निवासी २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिएको कम्प्युटर सेट, प्रिन्टर, मोनिटर, कैँची, प्रिन्ट पेपर तथा छापिएका र छाप्न बाँकी अवस्थामा रहेका नक्कली नेपाली नोट बरामद गरिएको छ।

बरामद सामग्रीमध्ये एउटै नम्बर ‘ङ २५ ०२४९१२’ भएका पाँच सय दरका ३० थान नक्कली नेपाली नोट फेला परेका छन्। साथै एक सय, पाँच सय र एक हजार दरका काट्न बाँकी अवस्थामा रहेका सात थान प्रिन्टेड नोट पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

यसका अतिरिक्त एउटा सिपियु, एउटा प्रिन्टर, एउटा मोनिटर, चार रिम प्रिन्ट पेपर, दुई थान मोबाइल र एउटा कैँची समेत बरामद गरिएको छ।

You may also like