बुटवल ।नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले बुधबार बुटवल मा पत्रकार सम्मेलन गर्दै सरकारले सुकुम्बासी बस्ती हटाउने उद्देश्यले सञ्चालन गरेको डोजर अभियानविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
संघर्ष समितिका संयोजक खगेन्द्र पौडेल ले सरकारले गरिबी समाधान गर्नुको सट्टा गरिबलाई विस्थापित गर्ने नीति अपनाएको आरोप लगाए। उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको दबाब र बस्ती खाली गराउने कार्यको विरोधमा आन्दोलन अपरिहार्य बनेको बताए।
समितिका अनुसार जेठ ३ गते काठमाडौं सहित देशका विभिन्न जिल्लाबाट आएका भूमिहीन तथा सुकुम्बासीहरूको सहभागितामा बुटवलमा वृहत प्रदर्शन गरिनेछ। राजमार्ग चौराहाबाट सुरु हुने विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत हुनेछ। कार्यक्रममा देशका २२ जिल्लाबाट करिब ३० हजारभन्दा बढी सहभागी हुने दाबी गरिएको छ।
यसैगरी, जेठ ४ गते राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ। सम्मेलनमार्फत आगामी देशव्यापी आन्दोलनको रणनीति र कार्यक्रम तय गरिने संघर्ष समितिले जनाएको छ। सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरी अन्तिम तयारी भइरहेको जानकारी दिइएको छ।
विघटित भूमि आयोग का तथ्यांकअनुसार रुपन्देही मा ७९ हजारभन्दा बढी घरपरिवारले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीका रूपमा नाम दर्ता गराएका थिए। तीमध्ये करिब ५२ हजार घरपरिवारको जग्गा नापजाँच सम्पन्न भएको थियो। तर वर्तमान सरकारले आयोग खारेज गरेपछि लालपूर्जा वितरण प्रक्रिया रोकिएको बताइएको छ।



