बुटवल । नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले यहि बैशाख २१ र २२ गते काठमाण्डौंमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारण सभा तथा निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई सम्मान गरेको हो ।
उनीहरुलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पूर्वअध्यक्षहरु जीवनप्रसाद वझा, ज्ञानेन्द्र कसजू, अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, खिमबहादुर हमाल तथा कार्यसमितिका पदाधिकारीहरुले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी ३ वर्षे कार्यकालको लागि जिल्ला÷नगर तर्फबाट उपाध्यक्ष पदमा सिद्धार्थनगर भैरहवाका कृष्णप्रसाद शर्मा, लुम्बिनी प्रदेश अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ सहित कार्यकारिणी समिति सदस्यमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, परासीका केशवप्रसाद भण्डारी, पाल्पाका मोहनप्रसाद श्रेष्ठ, कोहलपुरका लक्ष्मणराज पौडेल, कपिलबस्तुका यज्ञप्रसाद भट्टराई, रोल्पाका बालकृष्ण सुवेदी जिल्लानगर तर्फबाट तथा सिद्धार्थ सिमेन्टका राजेशकुमार अग्रवाल, पञ्चकन्याका उज्ज्वलकुमार श्रेष्ठ, एसआर स्टिलका सुरज उप्रेती र सर्वाेत्तम सिमेन्टका दिवश न्यौपाने एसोसियटतर्फबाट निर्वाचित भएका थिए ।
कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीका समस्याको समाधानका लागि आफू सक्रिय रुपमा लाग्ने प्रतिबद्धता जनाए । कार्यकारिणी समिति सदस्यहरुलाई विषयगत जिम्मेवारी दिएर सम्बन्धित क्षेत्रका मुद्दा उठान गरिने उनले बताए । उद्योगी व्यवसायीका समस्या समाधानका लागि जहाँ जहाँ जानुपर्ने हो गएर पहल गरिने उनको भनाइ थियो ।
उनले अधिकतम खुद्रा मूल्य (एम.आर.पी.) प्रणाली आवश्यक भए पनि एकैपटक कार्यान्वयन गर्न कठिन हुने भन्दै उद्योग, आयात र खुद्रा क्षेत्रलाई क्रमिक रुपमा समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिए । त्यस्तै लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित ठाकुरकुमार श्रेष्ठले समग्र लुम्बिनी प्रदेशको औद्योगिक, व्यवसायिक तथा आर्थिक विकासका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । उनले महासंघको अभियानमा साथ र सहयोग गर्न जिल्ला नगर तथा उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले लुम्बिनी प्रदेशको औद्योगिक, व्यावसायिक तथा आर्थिक विकासका लागि प्रदेशका उद्योग वाणिज्य संघहरुबीच एकता र सहकार्य आवश्यक रहेको बताए । उनले देशको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढीको योगदान गरेको निजी क्षेत्रलाई सरकारले उपेक्षा गरेको भन्दै निजी क्षेत्रलाई गरिने प्रोत्साहनले देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने भनाई राखे ।
महासंघका पूर्व कार्यकारिणी सदस्य तथा संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजू र संघका पूर्वअध्यक्ष अर्जुनमान सैंजूले उद्योगी व्यवसायीको हकहित र समस्याको समाधानका लागि महासंघको सिंगो टिम र जिल्ला नगर उद्योग वाणिज्य संघ बिचको सामन्जस्यतामा जोड दिए । उनीहरुले समस्यामा एकजुट भएर प्रदेशको औद्योगिक तथा आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरे ।
त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्त अधिकारीले निर्वाचित पदाधिकारीहरुलाई उद्योगी व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गरि काम गर्न सुझाव दिएका थिए ।



