१६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, बुटवलका सात मैदानमा प्रतिस्पर्धा

by समतल अनलाइन
79Shares

बुटवल। १६ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता बुटवलमा सुरु भएको छ। देविनगरस्थित एन्फा टेक्निकल सेन्टर मा आयोजित उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय ले खेल विकासका लागि तीन तहका सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले खेलाडीलाई व्यावसायिक बनाउन योजनाबद्ध लगानी र सहयोग जरुरी रहेको उल्लेख गरे। साथै देशभर क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको भन्दै यसले खेल क्षेत्रको प्राथमिकता परिवर्तन गरिरहेको बताए।

कार्यक्रममा खेलराज पाण्डेय ले शिक्षा, स्वास्थ्य तथा खेल पूर्वाधारमा स्थानीय तहले निरन्तर लगानी गरिरहेको जानकारी दिए। उनले बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष खेलकुद क्षेत्रमा करिब ५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको बताए।

रुपन्देही जिल्ला खेलकुद विकास समिति का अध्यक्ष कोशिश कुमार खड्का ले विद्यालयस्तरका प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना र भाइचाराको विकास गर्ने बताए।

प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ छात्र १५ सय मिटर दौडमा सियारी गाउँपालिकाका सचिन कुर्मी प्रथम भए। उनले ४ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गरे। बुटवल उपमहानगरपालिकाका आयुष सारु दोस्रो तथा गैडहवाका सर्वजित चमार तेस्रो भए।

छात्रातर्फ तिलोत्तमाकी चाँदनी पासी प्रथम भइन्। देवदहकी आयुष्मा खत्री दोस्रो तथा शुद्धोधनकी सुप्रिया पुन तेस्रो भइन्।

प्रतियोगिताका विभिन्न खेलहरू रुपन्देहीका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन्। कबड्डी कबड हल मा, तेक्वान्डो नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय मा, कराते दीप बोर्डिङ स्कुल मा, छात्र भलिबल न्यु होराइजन बोर्डिङ स्कुल मा तथा छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुल मा सञ्चालन हुने व्यवस्था गरिएको छ।

प्रतियोगितामा रुपन्देहीका १६ स्थानीय तहमध्ये १० पालिकाबाट ६९० छात्र र ६९० छात्रा गरी कुल १३८० खेलाडी सहभागी भएका छन्।

You may also like