प्रधानमन्त्रीले आफ्नै सरकारको नीति तथा कार्यक्रम सुनेनन्, राष्ट्रपतिले प्रस्तुत गरिरहँदा उठेर हिडे

by समतल अनलाइन
63Shares

काठमाडौं । ‘नीति तथा कार्यक्रम’ सरकारले आगामी आर्थिक वर्षमा देश कसरी सञ्चालन गर्ने, कुन क्षेत्रमा प्राथमिकता दिने, के–के काम गर्ने भन्ने समग्र योजना र दिशानिर्देशन हो। सरकारले आगामी एक आर्थिक वर्षभित्र सम्पादन गर्ने मुख्य कामहरू, प्राथमिकताहरू र तिनलाई कार्यान्वयन गर्ने योजनाहरूको खाकालाई समेटेर राष्ट्रपति वा सरकार प्रमुखले संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने व्यवस्था छ।

यो राष्ट्रपति वा सरकार प्रमुखले संसद प्रस्तुत गर्ने भएपनि सरकारको योजना हो । राष्ट्रपति वा सरकार प्रमुखले केवल वाचन मात्रै गर्ने हो । सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैथिए, राष्ट्रपति रामचन्द्र पौडेल । यो कार्यक्रम थियो, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्व सरकारको ।

प्रधानमन्त्री शाह नेतृत्वको सरकारको यो नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा एउटा अस्वाभाविक दृश्य देखिएको छ। राष्ट्रपति पौडेलले सम्बोधन गरिरहेकै समयमा प्रधानमन्त्री शाह बैठक कक्षबाट बाहिरिएका थिए। प्रधानमन्त्री आफैँले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचनका लागि हस्तान्तरण गरेका थिए। तर, राष्ट्रपतिले एक घण्टा १८ मिनेट लामो सम्बोधन गरिरहँदा प्रधानमन्त्री ५६ औँ मिनेटमा आफ्नो सिटबाट उठेर बाहिरिएका थिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दायाँतर्फ रहेको प्रधानमन्त्रीको सिट राष्ट्रपतिले सम्बोधन टुङ्ग्याउँदा सम्म खाली नै रहेको थियो।

प्रतिपक्षी दलका नेताहरुको प्रतिक्रिया : आधा पढ्दापढ्दै प्रधानमन्त्री हिँड्नु अशोभनीय हर्कत
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह सदनबाट निस्कनु अशोभनीय भएको बताएका छन् । सोमबार सदनमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफैँले हस्ताक्षर गरेको कार्यक्रम वाचन भइरहँदा प्रधानमन्त्री निस्कनु लज्जाको विषय भएको बताए । उनले भने,

‘आधा पढ्दापढ्दै प्रधानमन्त्री हिँड्नु अशोभनीय हर्कत हो । राष्ट्रपतिले सदनमा आफैँले हस्ताक्षर गरेका प्रति पढ्दा छोडेर हिँड्नु राष्ट्रिय लज्जाको कुरा हो । नयाँ कुरा सुन्न नपाउँदा उर्जा हराएको जस्तो नीति तथा कार्यक्रम लाग्यो । आफैँले बनाएको नीति कार्यक्रम राष्ट्रपतिज्यूले पढिनसक्दै आधा हुँदा नहुँदै सायद सुन्न बोर नै लागेर होला प्रधानमन्त्री संसद्को हल नै छोडेर हिँड्नुपर्ने स्थिति आयो ।’

You may also like