काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं राष्ट्रिय अधिवेशनबाट रूपन्देही जिल्लाले महासंघको केन्द्रीय संरचनामा उल्लेखनीय उपस्थिति जनाएको छ । अधिवेशनबाट रूपन्देहीका ६ जना व्यवसायी निर्वाचित हुँदै जिल्लाले महासंघमा उपाध्यक्ष, महासचिव, सचिवसहित तीन पदाधिकारी तथा तीन सदस्य पाउन सफल भएको हो ।
निर्वाचित हुनेहरूमा उपाध्यक्ष पदमा मोदनाथ वेल्वासे, महासचिव पदमा राजेश महत्रो, सचिव पदमा लालबहादुर केसी तथा सदस्य पदमा शिव प्रसाद पोख्रेल, लेखनाथ भण्डारी र रामप्रसाद पोख्रेल रहेका छन् । रूपन्देहीबाट एकैपटक ६ जनाको सशक्त प्रतिनिधित्व हुनु जिल्लाको होटल तथा पर्यटन व्यवसायका लागि गौरवको विषय बनेको छ ।
काठमाडौंको गौशालास्थित होटल बेस्ट वेस्टर्नमा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । मिति २०८३ वैशाख २६ गते सम्पन्न उक्त कार्यक्रम महासंघका नव निर्वाचित अध्यक्ष टि.आर. भण्डारी (शंकर) को सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री सुरेश श्रेष्ठ उपस्थित रहनुभएको थियो । उहाँले नेपालको पर्यटन तथा होटल व्यवसायलाई सशक्त बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नव निर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा नेपाल पर्यटन बोर्डका का.वा. प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐर विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा Trekking Agencies’ Association of Nepal (TAAN), NATA Nepal, र्याफ्टिङ संघ, पर्वतारोहण संघ, भिटोफ लगायत विभिन्न पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिहरू, महासंघका पूर्व अध्यक्षहरू, पूर्व सल्लाहकारहरू, प्रदेश तथा जिल्ला संघका प्रतिनिधिहरू र विभिन्न इकाइका व्यवसायीहरूको बाक्लो सहभागिता रहेको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सञ्चालन नव निर्वाचित महासचिव राजेश महोत्राले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट नव निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
रूपन्देहीबाट निर्वाचित टोलीले होटल तथा पर्यटन व्यवसायको हकहित, व्यवसायीहरूको अधिकार संरक्षण, पर्यटन प्रवर्द्धन तथा व्यवसायिक एकताको क्षेत्रमा सक्रिय भूमिका खेल्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन् । विशेषगरी पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको रूपन्देही जिल्लाको प्रतिनिधित्व महासंघमा बलियो बनेसँगै व्यवसायीहरू उत्साहित देखिएका छन् ।
कार्यक्रमको समापनमा होटल व्यवसायी महासंघ नेपालले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, संघसंस्था, सञ्चारकर्मी तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।



