ट्रम्पको मध्यस्थतामा रुस–युक्रेन युद्ध विराम

by समतल अनलाइन
50Shares

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि ऐतिहासिक युद्धविरामको घोषणा गरेका छन्। मे ९ देखि ११ सम्म लागु हुने यस युद्धविरामले लामो समयदेखि जारी हिंसात्मक द्वन्द्वमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत राष्ट्रपति ट्रम्पले यस उपलब्धिको जानकारी दिएका हुन्। उनले दोस्रो विश्वयुद्धको विजय दिवसको सन्दर्भ जोड्दै लेखेका छन्, ‘रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन्। म यो घोषणा गर्न पाउँदा खुसी छु कि रुस र युक्रेनबिच मे ९, १० र ११ का लागि युद्धविराम हुनेछ।’

युद्धविरामका मुख्य बुँदाहरू

अवधिः तीन दिन (मे ९ देखि ११) सम्म।
कैदी आदानप्रदानः युद्धविरामको अवधिमा दुवै देशबिच करिब एक हजार कैदीहरूको साटासाट गरिनेछ।
सैन्य गतिविधिः यस अवधिभर लडाइँका सम्पूर्ण गतिविधिहरू पूर्ण रूपमा ठप्प रहनेछन्।
राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्ताव स्वीकार गरेकोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार प्रकट गरेका छन्। उनले यस कदमलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो द्वन्द्वू अन्त्य गर्ने एउटा महत्त्वपूर्ण सुरुवातको रूपमा व्याख्या गरेका छन्। उनले थपेका छन्, ‘यो युद्धविराम लामो, घातक र कठिन युद्ध अन्त्यको प्रस्थानबिन्दु हुनेछ।

यद्यपि, एकातिर रुस र युक्रेनबिच वार्ता र युद्धविरामको प्रयास भइरहँदा अर्कोतिर अमेरिका र इरानबिचको सम्बन्ध भने थप तनावपूर्ण बनेको छ। दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेका छन्, जसले गर्दा विश्व राजनीतिमा नयाँ चुनौतीहरू थपिएका छन्।

You may also like