आज चट्याङ्गसहित वर्षा र हिमपातको चेतावनी

by समतल अनलाइन
66Shares

काठमाडौँ। नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले गर्दा हाल देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था सिर्जना भएको हो।

अहिले मधेस, बागमती र गण्डकी प्रदेश लगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ। तराईका बाँकी क्षेत्रमा भने मौसम आंशिक बदली छ।

पहाड र हिमाल: कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। अन्य प्रदेशका पहाडी भूभागमा पनि थोरै स्थानमा वर्षा हुनेछ।

तराईः तराईका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम पूर्णतया सफा हुने छैन। यी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको क्रम जारी रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने आंशिक बादल लाग्नेछ।

चट्याङ्ग र हिमपातको सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा र यात्रीहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

You may also like