लिपुलेक विवादमा‘कूटनीतिक नोट टकराव’का बीच भारतीय विदेश सचिवको भ्रमण स्थगित

by समतल अनलाइन
27Shares

काठमाडौँ । लिपुलेक सीमा विवादलाई लिएर नेपाल र भारतबीच कूटनीतिक तिक्तता बढिरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्रीको पूर्वनिर्धारित नेपाल भ्रमण स्थगित भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको उनको दुई दिने भ्रमण विशेष कारणवश हाललाई रोकिएको हो।

नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि द्विपक्षीय सम्बन्धका प्राथमिकता र नयाँ आयामबारे छलफल गर्न दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौँ पठाउने तयारी गरेको थियो। तर, पछिल्लो समय लिपुलेकको विषयमा दुवै देशबीच कडा कूटनीतिक दोहोरी चलिरहेका बेला यो भ्रमण स्थगित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

लिपुलेक विवाद र कूटनीतिक नोटको पृष्ठभूमि
नेपालले वैशाख २० गते नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेकोमा कडा आपत्ति जनाउँदै दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोट पठाएको थियो। नेपालको सो कदमको भोलिपल्टै भारतले जवाफी पत्र पठाउँदै नेपाली अडानमा असहमति जनाएको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबारको साप्ताहिक प्रेस ब्रिफिङमा नेपालको दाबीलाई ‘त्रुटिपूर्ण’ भन्दै लिपुलेक–मानसरोवर सडक सन् १९५४ देखि नै सञ्चालनमा रहेको दाबी दोहोर्‍याएका छन्। उनले सीमा विवादका बाँकी मुद्दामा कुराकानी गर्न भारत तयार रहे पनि नेपालको ‘एकतर्फी दाबी’ ठिक नभएको टिप्पणी गरेका थिए।

भ्रमण स्थगितको सन्देश
नयाँदिल्लीले मिश्रीको अन्य कार्यव्यस्तताका कारण भ्रमण सारिएको जानकारी नेपाललाई गराए पनि यसको वास्तविक कारण भने खुलाएको छैन। नयाँ सरकार बनेसँगै हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण कूटनीतिक नोटको टकराव र सीमा विवादको छायामा परेर स्थगित भएको कूटनीतिक वृत्तको विश्लेषण छ। अब दुवै देशको समझदारीमा भ्रमणको अर्को मिति तय गरिने बुझिएको छ।

You may also like