काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासी बस्ती हटाउँदा सरकारले देखाएको क्रूरता र बर्बरता पहिलोपटक देखेको बताएका छन् । शुक्रबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘ग्रीन टेबल’ छलफल शृंखलाअन्तर्गत सुकुम्बासी समस्या सम्बन्धी कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरूलाई सरकारको बर्बरताविरुद्ध प्रतिवाद गर्न सचेत गराए ।
थापाले भने, ‘यो खालको क्रुरता, बर्बरता मैले अहिलेसम्म देखेको छैन । स्टेट चलाउँदाखेरी मैले जति क्रुर भए पनि हुन्छ, बर्बर भए पनि हुन्छ भन्ने कुराचाहिँ राज्य चलाउँदै गर्दा मसँग करुणा हुनुपर्छ । मैले न्याय गर्नुपर्छ, मैले विवेक पुर्याउनु पर्दछ । कानुन प्रयोग गर्दाखेरी बल पनि प्रयोग गर्नुपर्छ । तर, मैले बल प्रयोग गर्दा मेरो यो अन्तिम हतियार हो । मैले बल प्रयोग गर्दा पनि नागरिकको सबै कुरा हेर्नुपर्छ । यस सन्दर्भमा राज्य सञ्चालन गर्नेहरूको सोचले पनि निर्धारण गर्छ । यो यसको पनि उपज हो ।’
सरकारले सुकुम्वासी बस्तीमा बर्बरता देखाएर पनि ‘कम्फरटेबल फिल’ गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको जिकिर गरे। सरकारले बल प्रयोग गर्दा नागरिकको पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरे। ‘राज्य चलाउँदै गर्दा मसँग करुणा हुनुपर्छ। मैले न्याय गर्नुपर्छ, मैले विवेक पुर्याउनु पर्दछ,’ उनले भने।
सुकुम्वासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने उनको भनाइ थियो। डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्ने बताए। ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्नु हुँदैन,’ थापाले भने।
सबैजना जग्गा कब्जा गरेर बसेका हुन् भन्ने खालको भाष्य बनाउन खोजिएको भन्दै उनले आपत्ती जनाए । भने, ‘यस्तो बनाइएको छ कि नयाँ पुस्ताका मानिसहरूलाई सबै अपराधी हुन् । सबैजना जग्गा कब्जा गरेर बसेका हुन् भन्ने खालको भाष्य बनाउन खोजिएको छ । यसलाई चिर्ने काम हाम्रो हो । यसमा तपाईंहरूले तथ्य, प्रमाण राखेर पार्लियामेन्टमा बोल्नुपर्छ । म तपाईंसँग यो कुराको अपेक्षा गर्दछु ।’



