बुटवल । बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन डोजर चलाइएको छ । बुटवल उपमहानगरको नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो।
उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घरटहरा खाली गराउन सूचना जारी गरेसँगै घरटहरा आफैँ खाली भएका छन्। रूपन्देहीको बुटवल उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै अतिक्रमण टहरा हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ जग्गा खाली गराउन थालेका हुन् । केहीले गएराति नै सामानहरू सारेका थिए। बुटवल उपमहानगरपालिका– ४ मा पर्ने उच्च अदालत तुलसीपुर इजलास बुटवलअगाडि सरकारी जग्गामा अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न सुरु भएको हो । आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ।
बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थिए । यहाँ करिब दुई दर्जन घर–टहरा छन्। तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुलसीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन डोजर चलाइएको हो ।
बुटवल उपमहानगरपालिका साबिक वडा नं. ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा बनेका घरटहरा हटाउन उपमहानगरले सार्वजनिक सूचना जारी गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाउन सुरु भएको जानकारी दिए ।



