काठमाडौं। काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बस्तीहरूमा शनिबारदेखि सुरु भएको डोजर अभियानपछि विस्थापित सुकुम्बासीहरू सरकारको सम्पर्कमा आउन थालेका छन्। महानगरपालिकाले बस्ती भत्काउन सुरु गरेसँगै घरबारविहीन भएका परिवारहरूलाई अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको छ।
सरकारले रंगशालालाई ‘होल्डिङ सेन्टर’ बनाएर विस्थापितहरूको पहिचान र वर्गीकरण (स्क्रिनिङ) गरिरहेको छ।
बस्ती भत्किएपछि उत्पन्न तनाव र डरका कारण विस्थापितहरूमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा रंगशालामा राखिएको हेल्प डेस्कमा स्वास्थ्य जाँच गराइरहेका अधिकांशमा कमजोरी र रक्तचाप (प्रेसर) कम हुने समस्या देखिएको छ।
हेल्थ डेस्कमा खटिएकी स्वास्थ्यकर्मी इन्दिरा पोखरेलका अनुसार, विस्थापितहरूले रातभर सुत्न नपाएको र डरका कारण खाना समेत खान नसकेको बताएका छन्। ‘धेरैजसोको खुट्टा थरथर कामेको छ, कमजोरीका कारण उनीहरूलाई जीवनजल दिएर उपचार गरिरहेका छौँ ।’, पोखरेलले भनिन्।
बस्ती भत्काउँदा हतारमा निस्कनु परेकाले धेरै बिरामीहरूले आफ्नो नियमित औषधि समेत निकाल्न नपाएको गुनासो गरेका छन्। यसले गर्दा दीर्घकालीन रोग भएका व्यक्तिहरू थप संकटमा परेका छन्। विशेषगरी, मिर्गौला फेल भएका एक वृद्धलाई गम्भीर अवस्थामा भेटिएपछि तत्कालै वीर अस्पताल रेफर गरिएको छ। नियमित औषधि सेवन गर्ने बिरामीहरू सम्पर्कमा आए पनि हालसम्म त्यहाँबाट औषधि भने वितरण नगरिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
पछिल्लो सरकारी तथ्याङ्कअनुसार हालसम्म २ सयभन्दा बढी परिवारले आफ्नो नाम दर्ता गराइसकेका छन्। सरकारले वास्तविक सुकुम्बासी र हुकुम्बासी छुट्याउने कार्यलाई तीव्रता दिएको छ। यद्यपि, एक्कासि घरबार खोसिएपछि बालबालिका, वृद्धवृद्धा र बिरामीहरू भने खुला आकाशमुनि जस्तै अवस्थामा पुगेका छन्।



