यस्तो छ ओली पक्राउपछि बसेको एमाले सचिवालयको निर्णय

by समतल अनलाइन
64Shares

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि गरिएको पक्राउप्रति आपत्ति जनाउँदै कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई सूर्योदय अगावै गरिएको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भन्दै निन्दा र विरोध गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। बैठक उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको थियो।

बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गर्दै दुवै नेताको तत्काल रिहाइको माग गरेको छ।

भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति पार्टीको सुरुदेखि नै असहमति रहेको उल्लेख गर्दै उक्त प्रतिवेदनलाई पूर्वाग्रही र न्यायिक सिद्धान्तविपरीत ठहर गरिएको पोखरेलले बताए। ‘आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको हाम्रो पार्टीको ठहर छ । तसर्थ, उक्त घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न यो बैठक माग गर्दछ,’ उनले भने।

पार्टीले गिरफ्तारीलाई नियोजित र निर्देशित कारबाहीको संज्ञा दिँदै रिहाइका लागि राजनीतिक दल, नागरिक समाज र आम नागरिकसँग संयुक्त पहलको आह्वान गरेको छ। साथै, संविधान, लोकतन्त्र र मानवअधिकारको संरक्षणका लागि आवश्यक कदम चालिने जनाएको छ।

आइतबार चैत १५ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको पनि एमालेले जनाएको छ। आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग समन्वय गरेर थप कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ।

‘यस घटनाबाट कत्ति पनि विचलित नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकता र दृढताका साथ अघि बढ्न समस्त पार्टीपंक्तिलाई आह्वान गर्दछ। आजको गिरफ्तारीको विरूद्धमा आइतबार चैत १५ गते आइतबार पार्टीका जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई विरोध पत्र बुझाइने कार्यक्रम तय गरिएको छ। आवश्यकता अनुसार अन्य राजनीतिकदलहरूसँग सम्वाद र समन्वय गरी विरोधका थप कार्यक्रमहरू तय गरिनेछ,’ उनले भने।

You may also like