नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, रुपन्देहीको नव-निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पुष्पमाला लगाई प्रमाणपत्र प्रदान गरियाे । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अर्जुन कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
गत मंसिरमा सम्पन्न अधिवेशनबाट निर्वाचित ९ सदस्यीय कार्यसमितिको संयोजकमा कविन्द्रमान श्रेष्ठ, सचिवमा विजय कुँवर, कोषाध्यक्षमा एजाज वारिस चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नरिनारायण घिमिरे, मोहम्मद शहिद मुसलमान, सुनिल गदाल, रामबहादुर शाही, खड्कबहादुर गुरुङ र विष्णुबहादुर खत्री निर्वाचित भएकाे निर्वाचन आयुक्त खिमानन्द भट्टराईले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित संयोजक कविन्द्रमान श्रेष्ठले यातायात व्यवसायीका हकहित संरक्षण र व्यवसायमा देखिएका समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश संयोजक तथा सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सञ्जिव रोकाले नयाँ नेतृत्वलाई चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्न सुझाव दिए ।
यसैगरी महासंघका केन्द्रीय सदस्य तथा बुटवल यातायात प्रा.लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठ, निवर्तमान सचिव दीपक श्रेष्ठ तथा सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का कोषाध्यक्ष सियाराम यादवलगायतले नव-निर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।


