बुटवलमा ‘सहिद प्रचण्ड थैव स्मृति सौभाग्य गोल्डकप’ हुने, तयारी अन्तिम चरणमा

by समतल अनलाइन
77Shares

बुटवल । स्थानीय स्तरमा फुटबलको विकास र खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले ‘सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२’ आयोजना हुने भएको छ।

सौभाग्य युवा क्लबको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुजु मल्लले जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगिताले विभिन्न जिल्लाबाट खेलप्रेमी दर्शक आकर्षित गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, व्यापार व्यवसायको प्रचारप्रसार गर्ने तथा लुम्बिनी क्षेत्रको पहिचान बढाउने लक्ष्य राखिएको छ। प्रतियोगितामा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साथै सिद्धेश्वरी खेलमैदानलाई मिनी स्टेडियमको रूपमा विकास गर्ने गुरुयोजना समेत सरकारी निकायमा पेश गरिएको जनाइएको छ।

पत्रकार सम्मेलनमा वडा नं. ७ का अध्यक्ष पदम बहादुर गाहा, रुपन्देही फुटबल संघका पूर्व सचिव दिपक गुरुङ, टिम कोच प्रदिप आचार्य, म्याच कमिश्नर बिष्णु पौडेल, बिस पचहत्तर युवा क्लबका अध्यक्ष सुरेन्द्र थापा तथा स्वर्गीय प्रचण्ड थैवका सुपुत्र राधव थैवले संयुक्त रूपमा कप अनावरण गरेका थिए।
दीपनगरस्थित सिद्धेश्वरी खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १२ क्लबहरूको सहभागिता रहनेछ, जसमा रुपन्देही, चितवन, नवलपरासी र कपिलवस्तुका टोलीहरू सहभागी हुनेछन्।

प्रतियोगितामा विजेताले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
आयोजकका सचिव प्रकाश क्षेत्रीका अनुसार करिब २ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ भने प्रतियोगिताभर करिब ४५ हजार दर्शकले खेल अवलोकन गर्ने अनुमान गरिएको छ।
गत वर्षको संस्करणमा झरना स्पोर्टिङ क्लब विजेता बनेको थियो।

You may also like