बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, नयाँ प्रविधि प्रदर्शनमा जोड

by समतल अनलाइन
70Shares

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ आजदेखि बुटवलमा सुरु भएको छ। मिलनचोकस्थित सिद्धार्थ कटेजको सभाहलमा आयोजना गरिएको दुई दिने समिटको उद्घाटन क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा खेलराज पाण्डेय, क्यान महासंघ अध्यक्ष सुनैना पाण्डे, डी-म्याक्स प्रतिनिधि अमिर थापा, रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली तथा पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरलगायतले सूचना प्रविधिको प्रयोग सबै क्षेत्रमा बढ्दै गएको बताएका छन्।

समिटमा सूचना प्रविधिका नवीनतम् प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिएको छ। क्यान महासंघले विगत २६ वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा यस समिटलाई विशेष महत्वका साथ आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए।

उनका अनुसार समिटमार्फत विश्व बजारमा आएका नयाँ प्रविधिबारे जानकारी गराउने, व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने तथा उपभोक्ता र व्यवसायीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने लक्ष्य राखिएको छ।

दुई दिनसम्म सञ्चालन हुने समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूको सहभागिता रहेको छ। मुख्य प्रदर्शनी हलमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयरलगायत प्रविधिसम्बन्धी २८ वटा स्टल राखिएका छन्।

समिटमा प्रत्यक्ष खरिद–बिक्री भने नहुने तर बुकिङको सुविधा उपलब्ध रहेको क्यान रूपन्देहीका सचिव सुरेश भट्टराईले जानकारी दिए। कार्यक्रम अन्तर्गत चैत १४ गते ‘बी-टु-बी समिट’ पनि आयोजना गरिनेछ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय आयातकर्ताबीच सहकार्य बढाउने विश्वास गरिएको छ।

समिटमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले जनप्रतिनिधि, सरकारी अधिकारी, शैक्षिक संस्था, आईटी विद्यार्थी तथा व्यवसायीलाई समिट अवलोकन गर्न आग्रह गरेका छन्।

आयोजकका अनुसार यस्ता कार्यक्रमले सूचना प्रविधि क्षेत्रको विकासमा टेवा पुर्‍याउनुका साथै सर्वसाधारणलाई नयाँ प्रविधिसँग परिचित गराउने अपेक्षा गरिएको छ। साथै रूपन्देहीलाई आईटी हबका रूपमा विकास गर्न र तीनै तहका सरकारलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिइएको छ।

You may also like