क्यानको बि-टु-सी समिट बुटवलमा : २८ स्टलमा नयाँ प्रविधि प्रदर्शन

by समतल अनलाइन
64Shares

बुटवल । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यसहित कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा दुई दिने ‘डी–म्याक्स डिजिटल बि-टु-सी समिट’ आयोजना हुने भएको छ।

समिट चैत १३ र १४ गते बुटवलको मिलनचोकस्थित सिद्धार्थ कटेजको सभाहलमा सञ्चालन हुनेछ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले समिटमा सूचना प्रविधिसम्बन्धी नवीनतम् प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिने जानकारी दिएको हो।

कार्यक्रमको टाइटल स्पोन्सर डी–म्याक्स डिजिटल रहेको छ भने एसोसिएट स्पोन्सरका रूपमा क्लाउड लिंक प्रा.लि. रहेको छ।
क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार विगत २६ वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम, सेमिनार, गोष्ठी तथा प्रदर्शनी गर्दै आएको क्यानले यस समिटलाई विशेष महत्वका साथ आयोजना गर्न लागेको हो। उनले समिटमार्फत विश्व बजारमा आएका नयाँ प्रविधिबारे जानकारी गराउने, व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने तथा उपभोक्ता र व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने लक्ष्य रहेको बताए।
दुई दिनसम्म सञ्चालन हुने समिटमा क्यान महासंघका सदस्य संस्थासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूको सहभागिता रहनेछ। मुख्य प्रदर्शनी हलमा हार्डवेयर, सेल्स, पावर सोलुसन तथा सफ्टवेयरलगायतका प्रविधिसम्बन्धी २८ वटा स्टल रहने जनाइएको छ।

कार्यक्रममा एचएमसी नेपाल प्रा.लि. प्लाटिनम स्पोन्सरका रूपमा रहेको छ भने कम्प्युटेक र हाइ–टेक इन्जिनियरिङ प्रा.लि. गोल्ड स्पोन्सर रहेका छन्। त्यस्तै शिफ्ट टेक्नोलोजी (पल्स प्रो), हन्ट की पीएनवाई, ह्याभिट सागर ग्रुप, सनसाइन कम्प्युटर, डिजिटल सप्लायर्स (शार्प), खड्का इलेक्ट्रोनिक्स (भर्टेक्स) लगायत कम्पनीहरू सिल्भर स्पोन्सरका रूपमा सहभागी हुनेछन्।

यसैगरी शाश्वत इन्टरप्राइजेज, केयर सिस्टम वर्क (केयर अकाउन्टिङ सफ्टवेयर), युसफ्ट, टीपी–लिंक, डाइनामिक टेक्नोसफ्ट प्रा.लि. लगायत संस्थाहरूले कार्यक्रमलाई सहयोग गरेका छन् भने इन्टरनेट पार्टनरका रूपमा ब्रॉड्लिंक रहेको छ।

समिटमा सूचना प्रविधिसम्बन्धी सामग्रीको प्रदर्शनी मात्र गरिनेछ, प्रत्यक्ष खरिद–बिक्री भने हुने छैन। इच्छुक व्यक्तिहरूले भने बुकिङ गर्न सक्ने आयोजकले जनाएको छ।

समिटको अन्तिम दिन चैत १४ गते व्यवसायीहरूबीच अन्तरक्रिया गर्ने उद्देश्यले ‘बि-टु-बि समिट’ पनि आयोजना गरिनेछ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय आयातकर्ताबीच सहकार्य र समन्वय बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, शैक्षिक संस्था, आईटी विद्यार्थी तथा व्यवसायीहरूलाई समिट अवलोकन गर्न आयोजकले आग्रह गरेको छ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले सूचना प्रविधि क्षेत्रको समग्र विकासमा टेवा पुर्‍याउनुका साथै सर्वसाधारणलाई नयाँ प्रविधिसँग परिचित गराउने विश्वास लिइएको छ।

You may also like