यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

by समतल अनलाइन
139Shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

बिहीबार बिहान कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा मापन गरिएको छ।

संखुवासभाको खाँदबारीमा ५७.६ मिलिमिटर वर्षा भएको छ भने तुम्लिङटारमा ५२ मिलिमिटर, तार्केघाटमा ३०.६ मिलिमिटर वर्षा भएको छ। इलामको कन्याममा ४३.४ मिलिमिटर र हिमाली गाउँमा ४८ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र मधेश प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

राति कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

You may also like

This will close in 0 seconds