तिनाउ इन्टरनेशनल हस्पिटलमा मधुमेह, थाइराइड र हर्मोन रोगका लागि निःशुल्क विशेषज्ञ सेवा

by समतल अनलाइन
22Shares

बुटवल । तिनाउ इन्टरनेशनल हस्पिटलमा निःशुल्क मधुमेह (डायबिटिज) शिविर आयोजना हुने भएको छ। हस्पिटलले फागुन महिनाभर हरेक शनिबार निःशुल्क मधुमेह शिविर सञ्चालन गर्न लागेको जनाएको छ।

हस्पिटलका अनुसार फागुन २, ९, १६, २३ र ३० गते शिविर सञ्चालन गरिनेछ। शिविर बिहान ८ बजेदेखि सुरु हुनेछ। मधुमेह, थाइराइड तथा हर्मोनसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै शिविर आयोजना गर्न लागिएको हो।

यस शिविरमा दक्षिण कोरियाको सियोल नेशनल युनिभर्सिटीबाट इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म विषयमा क्लिनिकल फेलोशिप पूरा गरी फर्किएका विशेषज्ञ डा. सुन्दर पाण्डेले सेवा दिने हस्पिटलले जनाएको छ। डा. पाण्डे एमडी (इन्टरनल मेडिसिन) हुन् भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) बाट अध्ययन गरेका हुन्। उनी मधुमेह, थाइराइड तथा अन्य हर्मोनसम्बन्धी रोगका विशेषज्ञ चिकित्सक हुन्।
शिविरअन्तर्गत बिरामीको रगतमा सुगर जाँच निःशुल्क गरिनेछ। साथै डाक्टरसँग परामर्श सेवा पनि निःशुल्क उपलब्ध हुनेछ। शिविरमा सहभागी मधुमेहका बिरामीलाई १५ दिनसम्म पुग्ने औषधि समेत निःशुल्क वितरण गरिने हस्पिटलले जानकारी दिएको छ।
हस्पिटल प्रशासनका अनुसार पछिल्लो समय मधुमेहका बिरामीको संख्या बढ्दै गइरहेको छ। बदलिँदो जीवनशैली, असन्तुलित खानपान, शारीरिक व्यायामको कमी र तनावका कारण मधुमेहका समस्या बढिरहेको भन्दै समयमै परीक्षण र उपचार आवश्यक रहेको जनाएको छ। धेरैजसो बिरामीले रोग ढिलो पत्ता लगाउने कारण जटिलता बढ्ने गरेको चिकित्सकहरूको भनाइ छ।

“मधुमेह एक दीर्घरोग हो, तर समयमै पहिचान र नियमित उपचार गरे नियन्त्रणमा राख्न सकिन्छ,” हस्पिटल स्रोतले जनाएको छ। शिविरले आर्थिक अवस्था कमजोर भएका तथा नियमित जाँच गर्न नसकेका बिरामीलाई विशेष सहयोग पुग्ने विश्वास लिइएको छ।
तिनाउ इन्टरनेशनल हस्पिटलले यसअघि पनि विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यसपटक विशेषगरी मधुमेह र हर्मोनसम्बन्धी रोगलाई लक्षित गर्दै विशेषज्ञ सेवा उपलब्ध गराउन लागिएको हो।

हस्पिटलले सबै सर्वसाधारणलाई शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउन आग्रह गरेको छ। विशेषगरी मधुमेहको लक्षण देखिएका, परिवारमा मधुमेहको इतिहास भएका, बढी तौल भएका, उच्च रक्तचाप भएका तथा ४० वर्ष नाघेका व्यक्तिले नियमित रूपमा सुगर जाँच गराउन चिकित्सकले सुझाव दिएका छन्।

शिविरमा सहभागी हुन चाहनेले तोकिएको मितिमा बिहान ८ बजेपछि तिनाउ इन्टरनेशनल हस्पिटलमा उपस्थित हुन सक्ने जनाइएको छ।
स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस निःशुल्क मधुमेह शिविरबाट धेरै बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ।

You may also like