रुपन्देही । शुद्धोदन गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार गाउँपालिकाको कार्यालय सभाहलमा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको प्रगति समीक्षा गरिएको हो। कार्यक्रममा सातै वडाका वडा अध्यक्षहरूको उपस्थितिमा विषयगत शाखा प्रमुख तथा वडा सचिवहरूले सञ्चालन भएका योजना, कार्यक्रमसँगै भौतिक तथा आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्यालले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमहरू समयमै सम्पन्न गर्ने गरी विशेष कार्ययोजना बनाएर अगाडि बढाइने बताउनुभयो। उहाँले समीक्षामा प्राप्त सबै सुझावहरूलाई ग्रहण गर्दै जनताको माग र आवश्यकताका आधारमा विकास निर्माणका काम अघि बढाउन निर्देशन दिनुभयो। बजेट कार्यान्वयनलाई उपलब्धिमूलक बनाउँदै गाउँपालिकाका गतिविधि जनसहभागितामार्फत अघि बढाइने उहाँको भनाइ थियो।
चौमासिक प्रगति समीक्षा कार्यक्रममा उठेका सवालहरूको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले गाउँपालिकाबाट प्रवाह गरिने सेवा सरल, सहज, छिटोछरितो र चुस्तदुरुस्त बनाउन सम्पूर्ण टिम प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी दिनमा सेवाग्राहीलाई मुस्कानसहितको सेवा प्रदान गरिने र देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै दोस्रो समीक्षा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा शुद्धोदन गाउँपालिका–३ का वडा अध्यक्ष हेम खड्का तथा वडा नं. ४ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता केशवप्रसाद अधिकारीले जनप्रतिनिधि र कर्मचारीहरू एकजुट भएर गाउँपालिकाको समग्र विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो।
शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत मन्तव्य र प्रशासन शाखाकी तुल्सा अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।



