रिडी खोलामा ताल निर्माण तीव्र, करिब १ करोडको लगानी

by समतल अनलाइन
236Shares

बुटवल। गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी खोलामा ताल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ।

रुरु ताल रिडी एड्भेन्चर प्रालिको करिब १ करोड रुपैयाँ लगानीमा रिडी खोलामा ताल निर्माण गर्न लागिएको हो। नौका विहार सञ्चालन गर्ने तथा रिडी क्षेत्रको सौन्दर्यकरण गर्ने उद्देश्यले ताल निर्माण सुरु गरिएको कम्पनीका अध्यक्ष रबिलाल पन्थले जानकारी दिए ।

उहाँका अनुसार स्थानीय नौ जना युवाको लगानी र सक्रिय सहभागितामा परियोजना अघि बढाइएको हो। आगामी माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी हाल अस्थायी (अल्पकालीन) ताल निर्माणको काम भइरहेको छ। त्यसपछि दीर्घकालीन योजनाअन्तर्गत स्थायी र पक्की ड्याम निर्माण गर्ने तयारी समेत रहेको अध्यक्ष पन्थले बताउनुभयो।

निर्माणाधीन ताल करिब ६० मिटर चौडाइ र करिब ५ सय मिटर लम्बाइको हुने बताइएको छ। ताल निर्माण सम्पन्न भएपछि रिडी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय युवाको पहलमा सुरु भएको यस परियोजनाले रिडी क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्ने विश्वास गरिएको छ।

You may also like

This will close in 0 seconds