निर्वाचन नलड्ने पम्फा भुसालको घोषणा

by समतल अनलाइन
63Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्वमन्त्री पम्फा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याउनु पर्ने मत सहित चुनाव नलड्ने घोषणा गरेकी हुन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत भुसालले चुनाव नलड्ने घोषणा गरेकी हुन्। फेसबुकमा लेखेकी छिन्, ‘आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्। यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।’

भुसालले ललितपुर सहित देशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस आएको उल्लेख गर्दै उम्मेदवार नबन्ने बताएकी छिन् । उम्मेदवार बन्ने प्रस्ताव स्वीकार गर्न नसक्ने बताउँदै उनले भनेकी छन्, ‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिनँ। प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद।’

यसअघि दुई पटक प्रत्यक्ष चुनाव जितेको र मन्त्री भइसकेको उल्लेख गर्दै त्यो अनुभवलाई पार्टी निर्माणमा लगाउने उनको भनाइ छ। भुसालले लेखेकी छन्, ‘म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु। अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ।’

स्टाटसको पूर्ण पाठ :

अभिबादन सबैलाई ।

फागुन २१ मा हुने निर्बाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !

तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ । त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो । आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन ।

यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।

यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन म सक्रिय भूमिका निर्वाह गर्नेछु । साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । त्यसैले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।

You may also like

This will close in 0 seconds