बुटवल।अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म देशको आर्थिक सूचक सुधार नहुने बताउँदै अहिलेको आर्थिक संकट समाधानका लागि निर्धारित समयमा निर्वाचन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभएको छ ।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको विकल्प खोज्नु देशलाई थप अनिश्चय र दुर्घटनातर्फ लैजाने कार्य हुने चेतावनी दिनुभयो ।
“जबसम्म राजनीतिक स्थिरता हुँदैन, तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन । अहिलेको संकट समाधान गर्न निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “निर्वाचनका विषयमा धेरै राजनीतिक दल र छिमेकी देशहरू सकारात्मक छन् । अर्को विकल्प सोच्नु अनिश्चयको वातावरण बनाउनु हो, यसतर्फ सबै दल गम्भीर हुनुपर्छ ।”
अर्थमन्त्री खनालले पछिल्लो समय लगानीको वातावरण बन्दै गएको दाबी गर्नुभयो । उहाँका अनुसार नेपालको इतिहासमै पहिलो पटक मूल्यवृद्धि न्यून स्तरमा रहेको छ, जसले आम उपभोक्तालाई राहत दिएको छ । साथै आर्थिक गतिविधि विस्तार भएको, मुद्रा सञ्चिति र वित्तीय क्षेत्रमा पूँजी सञ्चिति बढेको उहाँले जानकारी दिनुभयो ।
“सूचक सकारात्मक भए पनि अपेक्षित रूपमा लगानी बढ्न सकेको छैन,” उहाँले भन्नुभयो, “अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि बढाइएको छ । जेन–जी आन्दोलनपछि केही आर्थिक गतिविधि विस्तार भएका छन् ।”
अर्थमन्त्री खनालले बुटवल पहिलेबाटै औद्योगिक हब रहेको उल्लेख गर्दै यसको निरन्तर विकासका लागि सरकार आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार पुस ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा ५ सयभन्दा बढी स्वदेशी उद्योगका स्टल रहेका छन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले उद्योगी–व्यवसायीलाई सहज हुने गरी बजेट निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बुटवलको औद्योगिक प्रदर्शनीले स्वदेशी उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिँदै आएको उल्लेख गर्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रकुमार पाण्डेले यस्ता प्रदर्शनीले उत्पादनमूलक उद्योगलाई प्रवर्द्धन गर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापनमा सरकार प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगर्दा धेरै बजेट फिर्ता गएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार आचार्यलाई
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्वारा स्थापित यो पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो ।
अर्थमन्त्री रामेश्वर खनाल र उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित उहाँलाई पुरस्कृत गर्नुभयो ।
आचार्य हाल मेचीकाली दैनिक बुटवलका संवाददाता तथा लोकान्तर डटकमका लुम्बिनी प्रदेश संवाददाता को रूपमा कार्यरत हुनुहुन्छ ।
वि.सं. २०५७ सालमा स्थापना गरिएको यो पुरस्कारबाट हालसम्म २५ जना पत्रकार पुरस्कृत भइसकेका छन् । यस वर्षको पुरस्कार छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसी तथा सदस्यमा अर्थविद् मनिकर कार्की र उद्योग संघका निर्वतमान अध्यक्ष दिलिप सापकोटा रहनुभएको थियो ।
पुरस्कार वितरण समारोहमा बोल्दै संयोजक जिसीले रुपन्देहीको आर्थिक तथा औद्योगिक क्षेत्रको विकासमा यो पुरस्कारले पत्रकारलाई थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
संघका महासचिव सुमन बस्यालको सञ्चालनमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले र धन्यवाद प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले गर्नुभएको थियो ।




