बुटवल । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए–साइड फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। खेलकुदलाई विद्यालय शिक्षा तथा विद्यार्थीको सर्वाङ्गीण विकाससँग जोड्ने उद्देश्यले विद्यालयले निरन्तर रूपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
उद्घाटन कार्यक्रम रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले गरेका थिए। उद्घाटनका अवसरमा अध्यक्ष पुनले खेलकुदलाई विद्यालयको अनिवार्य पाठ्यक्रमसँग जोड्न आग्रह गर्दै खेलकुदले अनुशासन, आत्मविश्वास र टीम–वर्क सिकाउने बताए। उनले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्न सकिने उल्लेख गर्दै शिक्षा र खेलकुद एक–अर्काका पूरक हुने धारणा राखे।
विद्यालयका अध्यक्ष थानेश्वर पौडेलले प्रतियोगिताले विद्यार्थीलाई सामाजिक, आर्थिक र शैक्षिक रूपमा सक्षम बनाउने प्रेरणा दिने बताए। खेलकुदमा नियमित सहभागी विद्यार्थीहरू भविष्यमा राम्रो नागरिकका रूपमा स्थापित हुने उनले उल्लेख गरे।
त्यस्तै, प्राचार्य शंकर भण्डारीले सेभेन ए–साइड फुटबललाई विद्यालयको ब्राण्डका रूपमा विकास गर्न जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए। उनले जिल्लाका विद्यालयहरूले कमसेकम एउटा विधामा सिकिस्त रूपमा खेल विकास गर्नुपर्नेमा जोड दिए।
आइतबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन नै ६ खेल सम्पन्न भए। प्रत्येक खेलमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता देखियो।
पहिलो खेलमा कान्ति माविले सेभेन स्टार स्कुललाई १–० ले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो। कान्ति माविका रञ्जित कुँवरले गरेको एक गोल नै खेलको निर्णायक गोल बन्यो।
दोस्रो खेल अत्यन्त नै प्रतिस्पर्धात्मक रह्यो। गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुलले नविन औद्योगिक माविलाई ट्राइबेकरमा ३–२ ले पराजित गर्यो। निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो। स्कलर्स होमका गोलकिपर नविन मस्राङ्गीले उत्कृष्ट बचत गर्दै टिमलाई जित दिलाए।
तेस्रो खेलमा अक्सफोर्ड माविको ‘ए’ टिमले समिट बोर्डिङ स्कुललाई ट्राइबेकरमै ३ गोल गर्दै हरायो। खेल निकै रोमाञ्चक ढङ्गले चलेको थियो।
चौथो खेलमा न्यू नमूना स्कूल प्रतियोगितामा उपस्थिति नहुँदा ग्लोरी बोर्डिङ स्कुल वाकओभर पाउँदै अर्को चरणमा प्रवेश गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए।
पाँचौँ खेलमा नविन औद्योगिक कदरबहादुर रीता माविले तिलोत्तमा माविलाई १–० ले हरायो। नविन बिका नविन परियारले गरेको गोल टिमका लागि विजयी रह्यो।
अन्तिम तथा छैटौँ खेलमा एभरेष्ट बोर्डिङ स्कुलले दीप बोर्डिङ स्कुललाई ट्राइबेकरमार्फत हराउँदै जित दर्ता गर्यो।
प्रतियोगिता मंसिर १९ गतेसम्म चल्नेछ। यस वर्ष बुटवल तथा आसपासका २९ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन्। खेल संयोजक पवन बस्यालका अनुसार सोमबार पनि ६ खेल हुनेछन्।
विजेता टिमले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई ३ हजार, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्कोररलाई ३/३ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५५५ रुपैयाँ प्रदान गरिने सह–प्राचार्य विष्णु न्यौपानेले जानकारी दिए।
गत वर्षको उपाधि स्कलर्स होम बोर्डिङ स्कुलले जितेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो।

