कस्तो भयो एनपीएलको अंकतालिका, को को पुग्दैछन् प्लेअफमा ?

by समतल अनलाइन
72Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरण अब अन्तिम मोडतिर पुगेको छ। जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन कायम राख्दै पाँचै खेलमा अपराजित रहँदै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। सोसँगै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ।

त्यसैगरी काठमाडौँ गोर्खाजले छ खेलमा ८ अंक बटुलेर दोस्रो स्थान कायम राखेको छ। अब एक खेल मात्रै बाँकी रहँदा काठमाडौँ प्लेअफको नजिक पुगेको छ। विराटनगर किंग्स पनि पाँच खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ र प्लेअफको बलियो दाबेदारका रूपमा देखिएको छ।

चितवन राइनोजले चार खेलमा ४ अंक जोडेर चौथो स्थान ओगटेको छ भने लुम्बिनी लायन्सले पाँच खेलमा ४ अंकसहित पाँचौँ स्थान बनाएको छ। कर्णाली याक्सको पाँच खेलबाट २ अंक रहेर छैटौँ स्थानमा छ भने पोखरा एभेन्जर्स पनि चार खेलमा २ अंकसहित सातौँ स्थानमा छ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स भने यसपटक कमजोर देखिएको छ। चार खेलमध्ये चारै खेलमा हार बेहोर्दै जनकपुर तालिकाको अन्तिम स्थानमा छ।

लिगमा हरेक टिमले सात–सात खेल खेल्ने भएकाले अब बाँकी रहेको अन्तिम चरणका खेलले प्लेअफको पूर्ण समीकरण तय गर्नेछ। अहिलेसम्म सुदूरपश्चिम बाहेक अन्य सातै टिमको प्राविधिक सम्भावना जीवित रहेको एनपीएलले प्रतिस्पर्धा थप चर्किएको संकेत दिएको छ।

You may also like