बुटवल । १९९६ मा स्थापना भएको बुटवल लायन्स आँखा अस्पताल आज प्रदेश नं. ५ लगायत आसपासका पहाडी र तराईका जिल्लाहरूका नागरिकका लागि अत्यन्तै भरोसायोग्य आँखासेवा केन्द्रका रूपमा पहिचान बनाउँदै आएको छ। बुटवल उपमहानगर–११ मा अवस्थित यो अस्पतालमा रुपन्देहीका विभिन्न स्थानीय तह, साथै नवलपरासी, अर्घाखाँची, कपिलवस्तु र गुल्मीबाट समेत बिरामी आउने गरेका छन्। २६ वर्षभन्दा बढी समयदेखि सेवा दिँदै आएको यस संस्थाले समुदायमै पुगेर आँखा परीक्षण, शिविर तथा विद्यालयस्तरीय स्वास्थ्य शिक्षासमेत निरन्तर सञ्चालन गर्दै आएको छ।
अस्पतालका व्यवस्थापक आनन्द प्रसाद गौडका अनुसार पछिल्ला वर्षमा बिरामीको संख्या तीव्र रूपमा बढ्दो छ। “दैनिक २०० देखि ३०० बिरामी सेवा लिन आउनुहुन्छ। चाप बढ्दै गएपछि बुटवल उपमहानगरले पनि सेवा विस्तारका लागि छुट्टै बजेट प्रदान गरेको छ,” गौडले बताए। उहाँका अनुसार आधुनिक उपकरण थप्ने तथा परीक्षण कक्ष विस्तार गर्ने काम प्राथमिकतामा छ।
नेत्ररोग विशेषज्ञ तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. विवेक उपाध्यायका अनुसार अस्पतालमा सामान्य आँखा जाँचदेखि लिएर जटिल शल्यक्रिया समेत आधुनिक प्रविधिसहित उपलब्ध छ। “मोतीबिन्दुको म्यानुअल एससीएसदेखि फेको इमल्सिफिकेसन प्रविधिसम्मका अपरेसन हामी नियमित गर्दै आएका छौँ। बिरामीलाई विकल्प अनुसार प्रिमियम सहितका उच्च गुणस्तरका लेन्स जडान गर्ने सुविधा पनि छ,” डा. उपाध्यायले बताए। साधारण दिनमा १५–२० मोतीबिन्दु अपरेसन हुने गरेको छ भने शिविरको सिजनमा दैनिक ४०–४५ अपरेसनसमेत गरिएको अनुभव अस्पतालमा छ।
जलबिन्दुको परीक्षणका लागि भिजुअल फिल्ड, फन्डस फोटो लगायत सेवा उपलब्ध भए पनि रेटिना सम्बन्धी अत्याधुनिक परीक्षणका लागि बिरामीलाई बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।
ओपीडी इन्चार्ज इन्दिरा उदय जोशी, जो २६ वर्षदेखि अस्पतालमा कार्यरत छिन्, हाल भाइरल कन्जक्टिभाइटिसका बिरामी असाध्यै धेरै आइरहेको बताउँछिन्। “मनसुन ढिला सुरु हुँदा फोहोर पानी जम्ने अवस्थाले आँखा पाक्ने समस्या बढाएको छ। एउटै टावेल नयूज गर्ने, आँखा नछुने, मेडिकलबाट जथाभावी औषधि नलिने जस्ता सावधानी अहिले अत्यन्तै महत्त्वपूर्ण छन्,” उनले भनिन्। उनका अनुसार समयमै उपचार नपाए केही बिरामीमा आँखाको नानीमा घाउ भएर महिनौँसम्म समस्या देखिने गरेको छ।
यसैबीच अस्पतालले समुदायस्तरमा सञ्चालन गर्दै आएको आँखा शिविर तथा विद्यालय कार्यक्रमको प्रभावकारिता पनि उल्लेखनीय रहेको छ। बाह्य कार्यक्रम संयोजक मनोहर न्यौपानेका अनुसार प्रत्येक वर्ष करिब ३० आँखा शिविरमार्फत ३०–३५ हजार नागरिकले सेवा पाउने गरेका छन्। “विद्यालयमा जाँच गर्दा धेरै विद्यार्थीले पहिलोपटक आफ्नै दृष्टिदोषबारे थाहा पाउने गरेका छन्। मोबाइल र स्क्रिनको अत्यधिक प्रयोगका कारण दृष्टिदोष बढ्दो देखिएकाले हामी विद्यालय र अभिभावकमा निरन्तर सचेतना फैलाइरहेका छौँ,” न्यौपानेले बताए।
बढ्दो बिरामी चाप र सेवा विस्तारका लक्ष्यसँगै बुटवल लायन्स आँखा अस्पतालले आधुनिक उपकरण थप्ने, संरचना सुधार गर्ने तथा समुदायस्तरीय जनचेतना कार्यक्रमलाई अझ मजबुत बनाउने तयारी अघि बढाएको छ। प्रदेशका नागरिकलाई सुरक्षित र गुणस्तरीय आँखासेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पतालले आगामी वर्षहरूमा सेवा दायरा अझै फराकिलो बनाउने योजना अघि सारेको जनाएको छ।

