बुटवल।लुम्बिनी प्रदेशको आर्थिक केन्द्र तथा औद्योगिक सहर बुटवलमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा आएको छ। 
आन्तरिक र विदेशी पर्यटकलाई उच्चस्तरको सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि २५ कट्ठा जग्गामा बनेको १० तले भवनमा होटल सञ्चालन थालिएको हो।

१ सय ९ कोठा क्षमता भएको यो होटल बुटवलबाट सञ्चालनमा आएको पहिलो पाँचतारे होटल हो। सुरुमा ‘होटल सेफ्रोन’ नाममा निर्माण थालिएको यो परियोजना पछि अन्तर्राष्ट्रिय ब्रान्ड ‘ह्यात प्लेस’ अन्तर्गत सञ्चालनमा आएको हो। ह्यात ब्रान्ड सन् २००६ देखि विश्वका ४२० भन्दा बढी स्थानमा सेवा विस्तार गरिसकेको छ।
होटलमा यशोदा फुड्स ग्रुपको लगानी रहेको छ। सञ्चालकहरू चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जना छन्। कुल लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत व्यक्तिगत लगानी रहेको जानकारी सञ्चालक चुन्नुप्रसाद पौडेलले पत्रकार सम्मेलनमार्फत दिए।
होटलमा ६ वर्गका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्छन्। होटलको डिजाइनमा बौद्ध दर्शन, शान्ति र परम्परागत कला झल्किने गरी बोधीवृक्षका पात, मायादेवी मन्दिरको इँटा शैली, र बुद्धका चार आर्य सत्य झल्काउने संरचना प्रयोग गरिएको छ।
सञ्चालक पौडेलका अनुसार, होटललाई ‘फेमिली फ्रेन्डली’ बनाइएको छ। “होटल बिजनेस फोकस्ड भए पनि यसमा परिवारका लागि छुट्टै सुविधा व्यवस्थापन छ, जसले नेपालको संस्कृति र पहिचानलाई समेट्छ,” उनले बताए।
होटलमा जिङ बार, १ हजार १ सय वर्गमिटरको बलरुम, तीनवटा बहुउद्देश्यीय हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, मिट्टी घर डिजाइनको स्पा, ज्याकुजी र ठूलो पार्किङ सुविधा उपलब्ध छन्।
भारतको उत्तर प्रदेश बैक–मार्केट (करिब २४ करोड जनसंख्या) लाई लक्षित गर्दै भारतीय पर्यटक भित्र्याउने रणनीति होटलले बनाएको छ। निकट भविष्यमा क्यासिनो सञ्चालन गर्ने तयारी पनि भइरहेको सञ्चालक पौडेलले बताए। “क्यासिनोसहितको पहिलो पाँचतारे होटल बुटवलमै सुरु हुँदैछ, यो प्रदेशको पर्यटनमा महत्वपूर्ण योगदान हुनेछ,” उनले भने।
सञ्चालक कमलकिशोर मालपानीका अनुसार, सरकारले पर्यटनमैत्री नीति र कानुन प्रभावकारी बनाउनुपर्छ। “भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी प्रयोग र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सक्रिय हुनु आवश्यक छ,” उनले जोड दिए।
होटलले पूर्ण क्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी दिनेछ, जसमा स्थानीयलाई प्राथमिकता रहने जनाएको छ। होटल निर्माणसँगै कुसुम पथको करिब ३ सय मिटर सडक पक्की र सौन्दर्यीकरण पनि होटलले आफ्नै लगानीमा गरेको सञ्चालक भूमिराज पौडेलले बताए।
होटलको औपचारिक उद्घाटन मंसिर १० (नोभेम्बर २५) मा हुने तय भएको छ।




