काठमाडौँ ।नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्योगी तथा व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनपछिको परिस्थितिलाई अवसरको रूपमा लिएर अघि बढ्न निजी क्षेत्रलाई सुझाव दिएका हुन् ।
गभर्नर पौडेलले नेपालमा उद्योग र व्यवसाय सुधारको पर्याप्त सम्भावना रहेको छ र कुनै दुर्घटनाजस्तो परिस्थिति भए पनि निजी क्षेत्र निराश भएर बस्न नहुने बताए। उनले मुलुकको अर्थतन्त्र अघि बढाउन अवरोधको रूपमा देखिएका कालोसूची समस्याहरू समाधान गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने पनि औँल्याए।
‘नयाँ व्यवसाय खोल्नुहोस् र उच्च मनोबलका साथ काम गर्नुहोस्। हामीसँग पैसा छ, गभर्नेन्स छ र नयाँ निर्वाचित सरकार आउँदैछ । इन्डिया र चीनले ग्रो गरेको अवस्थामा हामी किन निराश हुनुपर्यो ?’ उनले भनेका छन्,’ आर्थिक क्षेत्रमा मनोबलको ठूलो भूमिका छ। तपाईँहरूको मनोबल उच्च राख्नुपर्छ।’
निजी क्षेत्रका लागि सरकारसँगको संवाद निरन्तर रहेको र सकारात्मक सोच र अवसरको उपयोग गर्दै काम गर्नुपर्ने उनले सन्देश दिएका छन् ।




