काठमाडौँ । भारतको बिहार राज्यमा हुन लागेको विधान सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सिमाना तीन दिनका लागि बन्द गरिएको छ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनाअनुसार शान्ति–सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म सिमानाबाट जन तथा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने छ । यो अवधिमा केवल आकस्मिक सेवाहरू मात्र सञ्चालन गर्न पाइने जनाइएको छ।
बिहार विधान सभाको दोस्रो चरणको मतदान कार्तिक २५ गते (नोभेम्बर ११) का दिन हुँदैछ। यस चरणमा सीमावर्ती क्षेत्रका निर्वाचन क्षेत्रहरूसहित १२२ सिटका लागि एक हजार ३०२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
यसअघि सम्पन्न पहिलो चरणमा बिहारका १८ जिल्लाका १२१ सिटमा एक हजार ३१४ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। ती जिल्लामध्ये पटना, दरभंगा, मुजफ्फरपुर, सहरसा, गोपालगंज, सिवान, सारण, समस्तीपुर, बेगूसराय, नालन्दा, बक्सरलगायतका स्थानहरू समावेश छन्।
यो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धन र विपक्षी महागठबन्धनबीच प्रत्यक्ष प्रतिस्पर्धा रहने अनुमान गरिएको छ। भारत निर्वाचन आयोगले सम्पूर्ण चरणको मतगणना कार्तिक २८ गते (नोभेम्बर १४) एकै दिन गर्ने तयारी गरेको छ।




