बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठौलियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिंदा साइकलमा सवार बुटवल–१६ की पार्वती चौधरीकी छोरी दुई वर्षीया कृति चौधरीको मृत्यु भएको हो।
माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका थिए।
इलाका प्रहरी कार्यालय मुर्गियाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए।
ठक्कर दिने माइक्रोबस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।




