काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित भएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली, दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ र दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई नयाँदिल्ली डाइभर्ट गरिएको छ ।
यस्तै, आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्बाध उडान–अवतरण हुन नसेकेको हो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताए ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी २ हजार ५ सय मिटर रहेको प्रवक्ता शेर्पाले बताए ।
यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको छ । त्यसपछि उक्त प्रणाली बिस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्यभू–भाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ ।
आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।




