मुस्ताङमा वर्षा र हिमपात : पर्यटकलाई सास्ती, किसान खुसी

by समतल अनलाइन
121Shares

काठमाडौं । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।

हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।

‘सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ ।’

मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आजदेखि वर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सोमबार सार्वजनिक सूचना जारी गरेकाले पर्यटक कम आएका जनाइएको छ ।

मुक्तिनाथ, लोमान्थाङ, चराङलगायत माथिल्लो क्षेत्रमा हल्का वर्षा सहित हिमपात भएको छ । म्याग्दीको अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा, कोखेडाँडाका भ्रमणमा गएका पर्यटक पनि वर्षा र हिमपातका कारण प्रभावित भएका छन् ।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलाका होटल व्यवसायी तेज गुरुङले आज बिहानैदेखि पदमार्गमा आवतजावत नभएको जानकारी दिए ।

‘अघिपछि दैनिक पाँच सय जना पर्यटक आएकामा सोमबार दुई सय जना जति आएका थिए’, उनले भने, ‘वर्षात् र हिमपात भएकाले आजको पदयात्रा स्थगित गरेर बसेका छन् ।’

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले गएराति १२ः०० बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको जानकारी दिए । घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले मौसममा खराबी आएपछि पर्यटकले पदयात्रा स्थगित गरेर बसेका जानकारी दिए ।

‘पुनहिलको दृृश्यावलोकन हेर्न र गन्तव्यतर्फ जाने पर्यटक बिहानैदेखि ‘डाइनिङमा ब्रेक फास्ट’ खाएर कोठामै बसेका छन्’, उनले भने, ‘चिसोका कारण स्वास्थ्यमा समस्या आउने, हिउँले पदमार्ग ढाकिँदा बाटो बिराउने, लडेर दुर्घटना हुने जोखिम भएकाले पदयात्रा स्थगित गर्न अनुरोध गरेका छौँ ।’

कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह
मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ ।

त्यसैगरी, मुक्तिनाथ क्षेत्रमा हिउँ परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या परेको जानकारी दिए ।

‘मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ पर्ने क्रम जारी छ, हिउँ पाँच–छ इन्च जति जमेको अवस्था छ’, उनले भने, ‘जमिन तातो भएकाले जम्न सकेको छैन, यही रफ्तारमा हिउँ पर्ने क्रम केही भएमा दुई फिटसम्म हिउँ जम्छ ।’

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनसार लोघेकर दामोदरकुण्डको उच्चलेकमा हिमपात भइरहेको र बस्ती नजिक वर्षासँगै आंशिक हिमपात भएको बताए ।

‘यस वर्ष कात्तिकमै हिउँ पर्यो, यहाँ दुई–तीनवर्षसम्म हिउँ पर्न सकिरहेको थिएन’, अध्यक्ष विष्टले भने, ‘हिउँ पर्नु किसानका लागि निकै राम्रो पक्ष हो, यसले किसानले लगाएका अन्नबाली उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउँदछ ।’

यसैगरी वारागुङ मुक्तिक्षेत्रको खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत उच्च स्थानका गाउँमा पनि बाक्लो हिउँ परेको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने बताए ।

यो यामको कात्तिकमै हिउँ परेकाले स्याउलगायत अन्नबालीलाई फाइदा पुगेको वडाध्यक्ष गुरुङले बताए । हिउँले खेतीयोग्य जमिनको भित्री तहसम्म सिञ्चित गर्ने भएकाले हिउँदयामको किसानका लागि बरदान सावित हुने उनको भनाइ छ ।

कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो ।

जोमसोम–मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारीसाधन लिएर मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

कागबेनी–मुक्तिनाथ सडकखण्डको कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान यात्रा वर्गलाई अनुरोध गरिएको उनले बताए ।

You may also like