एक वर्षपछि हायात होटेल सञ्चालनमा आउने

by समतल अनलाइन
63Shares

पाँच तारे हायात रिजेन्सी होटल्सले हालैको जेनजी आन्दोलनका क्रममा ठूलो क्षति पुगेको जनाउँदै पुनःनिर्माणपछि शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

आइतबार कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले क्षतिपछि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा होटेलले आभार व्यक्त गर्दै छिट्टो पुनः निर्माण सकाउने जनाएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा होटेलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘होटेल पुनःनिर्माणपछि अझ स्तरोन्नत सेवासहित सञ्चालनमा आउनेछ, जसले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उँचो बनाउनेछ।’

होटेलका अनुसार आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगलागीका कारण अतिथि कक्ष, लबी, रिसेप्सन, रेस्टुरेन्ट, बैंक्वेट हल, कार्यकक्ष र चैत्यलगायत सम्पूर्ण संरचनामा व्यापक क्षति पुगेको छ । सो घटनापछि होटेल पूर्ण रूपमा बन्द गरिएको र अहिले क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको जनाएको छ।

‘पूर्ण मूल्याङ्कनपछि होटेललाई आधुनिक र विस्तारित स्वरूपमा पुनर्निर्माण गरी शीघ्र सञ्चालनमा ल्याइनेछ,’ विज्ञप्तिमा भनिएको छ। पुनर्निर्माण र स्तरोन्नतिका लागि कम्तीमा एक वर्ष लाग्ने होटेलको अनुमान छ।

होटेलले पुनः सञ्चालनपछि सरकारको राजस्व वृद्धि र मुलुकको आर्थिक विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता पनि जनाएको छ।

You may also like