अमेरिकासँग नेपाल १०६ रनले पराजित

by समतल अनलाइन
57Shares

काठमाडौँ । दुबईमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सोमबार भएको खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९ ओभर १ बलमै १५६ रनमा अलआउट भयो।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन जोडे भने आसिफ शेखले ३७ र भीम सार्कीले २९ रनको योगदान दिए। तर, अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल ठूलो अन्तरले पराजित हुन पुग्यो। कप्तान रोहित पौडेल २ रनमा, आरिफ शेख २० रनमा, गुल्सन झा ३ रनमा, सोमपाल कामी ११ रनमा र करण केसी २ रनमा आउट भए। सन्दीप लामिछाने र कुशल भुर्तेल शून्य रनमै पेभिलियन फर्किए।

अमेरिकाका बलर हर्मित सिंह नेपालका लागि निकै घातक साबित भए। उनले ८.१ ओभरमा २६ रन खर्चेर ६ विकेट लिँदै अमेरिकाको जित सुनिश्चित गरे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। अमेरिकाका ओपनर स्मित पटेलले ७५ रनको उत्कृष्ट पारी खेले भने मिलिन्द कुमार अविजित ७० रनमा रहे।

नेपालका बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट झारे।

You may also like